एमबैंक र एनएमसी कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी
२६ साउन, काठमाडौं । डिजिटल वित्तीय सेवा प्रदायक एमबैंक टेक्नोलोजिज प्रालि र एनएमसी मल्टिपर्पज को–अपरेटिभ लिमिटेड (एनएमसी कोअप) बीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी भएको छ ।
एकीकृत डिजिटल बैंकिङ, भुक्तानी तथा ऋण सेवा एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने उद्देश्यले दुई संस्थाबीच साझेदारी भएको हो । सम्झौतामा जेठ २९ गते हस्ताक्षर भएको थियो । सेवा भने साउन ७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
देशभर ५७ सेवा केन्द्रमार्फत १ लाख ५० हजारभन्दा बढी सदस्यलाई सेवा दिँदै आएको एनएमसी कोअपले अब आफ्ना सदस्यलाई एमबैंकको डिजिटल प्लेटफर्ममार्फत थप वित्तीय सेवा उपलब्ध गराउने भएको छ ।
साझेदारीपछि एनएमसी कोअपका सदस्यले एउटै मोबाइल एपमार्फत मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट, फन्ड ट्रान्सफर, युटिलिटी पेमेन्ट, डिजिटल पेमेन्ट र केवाईएम अपडेटलगायतका सेवा लिन सक्नेछन् ।
साझेदारीमा डिजिटल ऋण सेवालाई समेत प्राथमिकता दिइएको छ । चरणबद्ध रूपमा सदस्यले फिक्स्ड डिपोजिट तथा पिरियडिक खाताविरुद्ध ऋण, ऋण भुक्तानी, ऋण विवरण तथा नयाँ ऋण आवेदनजस्ता सेवा मोबाइल प्लेटफर्मबाटै लिन सक्नेछन् ।
डिजिटल प्रक्रियाबाट आवश्यक कागजात बुझाउन र ऋण आवेदनको अवस्था हेर्न सकिने भएकाले ऋणका लागि शाखामा प्रत्यक्ष उपस्थित हुनुपर्ने बाध्यता समेत कम हुने अपेक्षा गरिएको छ ।
एनएमसी मल्टिपर्पज को–अपरेटिभका प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले सहकारी क्षेत्रको दिगो विकासका लागि प्रविधिमैत्री सेवा विस्तार आवश्यक रहेको बताए । उनले साझेदारीले सदस्यलाई सुरक्षित, सहज र आधुनिक वित्तीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
एमबैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जय महासेठले साझेदारी मोबाइल बैंकिङ सेवाको विस्तारमा मात्र सीमित नभएको बताए । सहकारी क्षेत्रलाई डिजिटल प्रविधिमार्फत रूपान्तरण गर्ने साझा पहलका रूपमा यसलाई अघि बढाइएको उनको भनाइ छ ।
उनका अनुसार बैंकिङ, भुक्तानी र ऋण सेवालाई एउटै डिजिटल प्रणालीमा एकीकृत गरी सदस्यलाई सरल, सुरक्षित र आधुनिक वित्तीय अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ ।
कम्पनीका अनुसार साझेदारीले एमबैंकको ‘वन प्लेटफर्म फर बैंकिङ, पेमेन्ट्स एन्ड लेन्डिङ’ र ‘वन एप, मल्टिपल सर्भिसेज’ अवधारणालाई थप बलियो बनाएको छ । यसले सहकारी, लघुवित्त तथा वित्तीय क्षेत्रमा डिजिटल वित्तीय पहुँच विस्तार गर्ने प्रतिबद्धतालाई समेत थप मजबुत बनाएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : August 11, 2026 at 12:31 pm



