१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

प्रधानमन्त्री ओलीलाई फेसबुकमा शुभकामना दिएका योगेशले ट्वीटरमा किन असन्तुष्टि पोखे

१४ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले यही फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई ६८ औं जन्मोत्सवका अवसरमा फेसबुकमा शुभकामना दिएका थिए । तर उनैले ट्वीटमा धेरैले राजनेता भन्दै शुभकामना दिएको स्टाटस हेरेर वाक्क भएपछि  एउटा ट्वीट गरे जुन अहिले चर्चामा छ ।

ट्वीटभित्रै धेरै सवाल जवाफ नभए पनि योगेशको ट्वीटका बारेमा सिंहदरबार, धुम्बाराही र बालुवाटारमा अझैे चर्चाको विषय बनेको छ । योगेशले ट्वीटमा राजनेताको परिभाषा दिने कोशिश गरे । प्रधानमन्त्री ओलीको जन्मदिनकै दिन उनले यस्तो किन गरेत ? यसको अर्थ लगाउनेहरूले अनेकन व्याख्या गरेका छन ।

विगतमा योगेशसँग वाक युद्ध गर्ने प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले भने कुनै प्रतिक्रिया जनाएका छैनन् । योगेशले लेखेका छन ‘त्यो साच्चै राजनेता हो, जसले जीवनभर अरूको अनुहारमा मुस्कान दिन्छ अनि मृत्युपछि आखामा आँशु !’ फेसबुकमा शुभकामना दिएर याेगेशले ट्वीटरमा किन यस्तो असन्तुष्टि देखाए त भन्ने विषय अहिले चर्चाको एउटा पाटो बनेको छ ।

धेरै नेता कार्यकर्ताले ओलीलाई राजनेता भनेर शुभकामना दिइरहँदा आश्चर्यबोधक चिन्ह सहितको योगेशकाे ट्वीटको उनी निकटकै नेताले पनि ओलीप्रतिको असन्तुष्टको रूपमा व्याख्या गरेका छन । गत चुनावमा योगेशलाई चुनाव जिताउनका लागि प्रधानमन्त्री ओलीले ताप्लेजुङमै गएर मन्त्री बनाउँछु भनेर पछि धोका दिएको उनी निकटकाहरूको बुझाइ छ । यद्यपी यही बीचमा योगेशले गुटका नाममा ओलीका विरूद्धमा गरेका सबै गतिबिधिका बारेमा जानकार ओलीले किन मन्त्री बनाएनन भन्ने कुरा रहस्यको गर्भमै छ । मन्त्री हुन नपाएपछि संसदीय समितिको सभापति बन्ने योगेशको कोशिश असफल भएको थियो ।

यद्यपी  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८ औं जन्मोत्सव भव्य रूपमा मनाए । जन्मोत्सवका अवसरमा शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आँपको विरूवा रोपेका प्रधानमन्त्रीले दिउँसभर नै पार्टीका नेता कार्यकर्ताको तर्फबाट शुभकामना ग्रहण गरेका थिए । सयौँ कार्यकर्ताले प्रधानमन्त्री निवासमै गएर ओलीलाइ शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलवार १२:२५