१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

उच्च आर्थिक वृद्धिका लागि नीतिगत हस्तक्षेप आवश्यकः उपाध्यक्ष भट्ट

२४ साउन, काठमाडाैं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने बताएका छन्।

आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा पनि नीतिगत सुधार र लगानी वृद्धिकै कारण उच्च आर्थिक वृद्धिदर हासिल भएको अनुभव सुनाए ।

उपाध्यक्ष भट्टले नेपालको दीर्घकालीन औसत आर्थिक वृद्धिदर करिब ४ प्रतिशत रहेको उल्लेख गर्दै नीतिगत हस्तक्षेप र लगानी विस्तार गरिएका केही वर्षहरूमा ७ प्रतिशतसम्म पुगेको बताए ।

उनले आर्थिक वृद्धिका लागि पुँजी निर्माण पनि बढाउनुपर्नेमा जोड दिए। उनका अनुसार नेपालको फिक्स्ड क्यापिटल फर्मेसन कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब २६ प्रतिशतमा पुगेको छ। यसअघि लगातार तीन वर्ष यो अनुपात करिब २४ प्रतिशतमा सीमित रहेको उनले जानकारी दिए।

भूकम्पपछिको पुनर्निर्माणमा लगानी बढेका बेला नेपालले लगातार तीन वर्ष करिब ७ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको र त्यस समयमा कुल गार्हस्थ्य उत्पादनको करिब ३० प्रतिशतसम्म पुँजी निर्माण भएको उनको भनाइ छ।

आर्थिक विकासलाई गति दिन शिक्षा, स्वास्थ्य तथा सीपमूलक क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा उनले जोड दिएका छन्। स्वदेशमै आवश्यक दक्ष जनशक्ति तयार गरी उनीहरूलाई देशभित्रै अवसर उपलब्ध गराउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति : August 9, 2026 at 3:45 pm