२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

नेपालयले ल्यायो २५ वर्षमुनिका ७५ लेखक

२४ साउन, काठमाडौँ । शनिबार कालिकास्थानस्थित नेपालयको आरशाला खचाखच थियो । अक्सर साहित्यिक भीडमा देखिने अनुहारभन्दा फरक युवा अनुहारको बाहुल्य थियो । अस्ट्रियाको भियना विश्वविद्यालयमा प्राध्यापनरत लेखक अलका आत्रेय चूडाल भन्दै थिइन्, ‘लेखपढमा युवाहरुको यत्रो उत्साह देखेर म अचम्ममा परेँ । उहाँहरु किताब किनिरहनुभएको छ, पढिरहनुभएको छ, साहित्यिक जिज्ञासा राखिरहनुभएको छ । कति सुन्दर दृश्य देखियो आज ।’

गत वर्ष नेपालयले २५ वर्षमुनिका लेखकबाट कथा, कविता, निबन्ध (ककनि) आह्वान गरेको थियो । छानिएका ७५ लेखकका रचना शनिबार लोकार्पण हुँदै थियो । २५ वर्षमुनिका २५ कथाकार, २५ कवि र २५ निबन्धकारको जमघटले नेपालयको आँगनमा नयाँ स्वरहरुको सृजनशील लहर ल्याइदिएको थियो । यति सानै उमेरमा लेखक बन्न पाइयो भनेर उनीहरु आपसमा बधाई साटिरहेका थिए । ह्वाइट केनमा आएका थिए, छनौटमा परेका कवि आर्य निरौला । धरानका उनी काठमाडौँमा मनोविज्ञानमा स्नातक अध्ययनरत छन् । उनी भन्दै थिए, ‘मैले यस्तो प्लाटफर्म पाएँ जो असम्भव थियो ।’

कथा विधामा प्रकाशित पुस्तकमा अजय कार्की, अनिता धिताल, अनुष्का लामिछाने, अमित भट्टराई, आर्या अधिकारी, ईशान ढकाल, उमेश कार्की, कविराज क्षत्री, कृतिशा अमात्य, तेजकुमार राई, दीपक गौतम, दीपिका खतिवडा, नवीन धमला, निश्चल भण्डारी, नीरव, परीक्षा शर्मा, प्रनिका श्रेष्ठ, प्रशान्त वाग्ले ‘प्राकृतिक’, मुधुसूदन घिमिरे, रोदिनलाल श्रेष्ठ, शिवराज शाही, समर्पण न्यौपाने, समिन गैरे, सुमन पौडेल र सोमनाथ लुइटेलका कथा संकलित छन् ।

यी छानिएका नयाँ कथाकार र आख्यानकार नारायण वाग्लेबीच एक घण्टा खुला वार्तालाप चल्यो । ‘तपाईंहरुको कथा शैली र शिल्प पढेर म छक्क परेको थिएँ,’ छनौटकर्ता नारायण वाग्ले भन्दै थिए, ‘आज तपाईंहरुका यति परिपक्व प्रश्न र धारणा सुनेर जेनजीको आख्यान–आन्दोलन आइपुगेको आभास भयो मलाई ।’

यसैगरी कविता विधामा अनिता तिवारी, अनुपा गैरे, आर्य निरौला, उत्सव आचार्य, उषा लिम्बू, कम्मान रावल, गायत्री नेपाल, गौरव न्यौपाने, जोनसन श्रेष्ठ, डोल्मा लामा, तीर्थराज विश्वकर्मा, दुर्गा खतिवडा, नवीनकुमार नेपाली, नारन न्यौपाने, प्रज्वल लोहनी, प्रदीप योङ्हाङ्, प्रिशा शशी लेखक, युक्ता सुनुवार, रसिला धमला, श्रव्य आरिया, समृद्ध हमाल, सुजता बस्याल, सुदर्शनप्रकाश खड्का, सुरङ्गा सेढाई र स्पन्दन झा छानिएका छन् ।

यी कविसँग कवि तथा आख्यानकार श्रवण मुकारूङको अर्को खुला सेसन चलेको थियो । ‘तपाईंहरुका कविताले मलाई पुरानो थोत्रो कोटझैँ बनायो, यो तपाईंहरुको समय हो’ श्रवण मुकारुङ भन्दै थिए, ‘नयाँ स्वर सुन्न चाहनेका लागि म तपाईंहरुको कृति सबैलाई सिफारिस गर्छु ।’

यसैगरी निबन्ध विधामा अनुकृत लामिछाने, अविरल जाग्री, कञ्चनकुमार बस्नेत, कवीन्द्र जोशी, कृषा दाहाल, जयनी पण्डित, जिज्ञासा सोनम, धीरजप्रताप मल्ल ठकुरी, नुमा थाम्सुहाङ, परिमलप्रकाश नेपाल, भूमिका थारु, मनस्वी बान्तवा, ममता घिमिरे, महिता श्रेष्ठ, मोहन सङ्ग्राम, विक्रम नेपाल, विनोद लामिछाने, विवेक भट्टराई, शून्य नयन, सलिना बास्तोला, संयोग बस्याल, संस्कृति रिजाल, सन्जिला खनाल, सागर घले र सापेक्ष छानिएका छन् ।

निबन्धकार भूषिता वशिष्ठ यी नयाँ निबन्धकारसित अनलाइनमा जोडिएकी थिइन् । ‘तपाईंहरुका रचना पढ्न पाउनु मेरा लागि जति सुरुचिपूर्ण भयो, उति नै शिक्षाप्रद पनि,’ भूषिता वशिष्ठ भन्दै थिइन्, ‘तपाईंहरुको विषय, शैली, साहित्यिक प्रौढता सुन्दर छ ।’

तीन विधाका रचना छनौटकर्ता श्रवण मुकारुङ, नारायण वाग्ले र भूषिता वशिष्ठले ७५ रचनाकारसित वार्तालाप गरेका थिए । केही लेखक देशबाहिर र काठमाडौँबाहिरबाट अनलाइनमा जोडिएका थिए ।

युवा लेखकहरुका परिपक्व विचार, धारिला प्रश्न र गहिरा जिज्ञासाले तीनै छनौटकर्ता चकित देखिन्थे । श्रवण मुकारूङले भने, ‘आजको दिन नेपाली साहित्यमा एउटा ऐतिहासिक दिन हो, जहाँ बलिया लेखकहरु सृजनशील, वैचारिक हस्तक्षेपसहित उदाएका छन् ।’

‘‘पल्पसा क्याफे’ उपन्यास प्रकाशन गर्दै सुरु भएको हाम्रो यात्रा २० वर्ष पुगेको अवसरमा हामीले नयाँ पुस्ताका लेखक खोजी गरेका हौँ,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठले भने, ‘यी उत्साही युवा लेखकलाई यसरी एकै ठाउँ भेट्न पाउँदा मैले आफूलाई पल्पसा क्याफेपछिको फैलिँदो साहित्यिकवृत्तमा पाइरहेको छु ।’

सन् २५ मा ‘२५ वर्षका २५’ शीर्षकमा खुला रचना आह्वान गरिएको थियो । ‘संसारभरबाट उत्साहजनक सहभागिता भयो,’ आह्वानका परिकल्पनाकार तथा सम्पादक विमल आचार्य भन्दै थिए, ‘युवाहरुको बलियो उपस्थितिले साहित्यमा नयाँ सम्भावनाको ढोका खोलेको छ ।’ युवाहरु पढ्दैनन्, लेख्दैनन् भन्ने भाष्यमाथि सानोतिनो अनुसन्धान सर्वेक्षण नै भएको भन्दै आचार्यले तीन पुस्तकहरुमा ‘ककनिको कथा’अन्तर्गत यो आह्वानले उजागर गरेका विभिन्न पाटाहरुमाथि लेखेका छन् ।

नेपालयले शनिबार बिहानै ९ बजेदेखि बेलुका ६ बजेसम्म विभिन्न कार्यक्रमसहित नेपालय साहित्य उत्सव आयोजना गरेको थियो । जसअन्तर्गत ऐतिहासिक समाजशास्त्री तथा ‘सन्धिकाल’ पुस्तकका लेखक लोकरञ्जन पराजुलीले ‘नेपालमा पुस्तकालय र पठन परम्परा’ शीर्षकमा कीनोट स्पिच दिएका थिए । सार्वजनिक पुस्तकालयको आवश्यकता र महत्वबारे युवा लेखकहरुबीच उनले सारगर्भित मन्तव्य दिएका थिए ।

नेपालयले अघिल्लो वर्ष प्रकाशन गरेका तीन उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’का सर्जक नारायण ढकाल, ‘सलह’का सर्जक श्रवण मुकारुङ र ‘पैकेलो’का सर्जक ओम रिजालबीच ‘आजको आख्यान’ शीर्षकमा सृजना खड्काको सहजीकरणमा छलफल भएको थियो ।

उत्सवको अन्त्यमा नेपथ्य ब्यान्डले सन् २००४ मा गरेको नेपाल यात्राबारेको डकुमेन्ट्री फिल्म देखाइएको थियो । साथै नेपालयले हरेक अंग्रेजी महिनाको तेस्रो शुक्रबार आरशालामा फिल्म क्लबको घोषणा गरेको छ ।

युवा लेखकहरुका कथा, कविता, निबन्धसंग्रह गरी तीन पुस्तकको सेटको मूल्य १९९५ रुपैयाँ रहेको छ । पुस्तक देशभरका पुस्तक पसल तथा थुप्रैडटकम र अमेजनमार्फत संसारभरबाट किन्न सकिन्छ ।

प्रकाशित मिति : August 9, 2026 at 3:06 pm