२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

जग्गाधनी पूर्जा बनाइदिने भन्दै घुस लिने नापी कार्यालय चावहिलका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा

२२ साउन, काठमाडौं । नापी कार्यालय चावहिल २ र ३ नं नापी टोलीका अमिन टोपजङ खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार खत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ६० हजार रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, बिगो असुल तथा जरिवानाको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

खत्रीले आफ्नो पद तथा ओहदा सम्बन्धी कामको सिलसिलामा जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा बनाई दिनेसमेतका काममा सहजीकरण गरे गराएबापत सेवाग्राहीसँग घुस/रिसवत रू एक लाख ६० हजार रूपैयाँ माग गरी लिएको पुष्टि भएको अख्तियारको ठहर छ।

खत्रीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई बिगो रू.एक लाख ६० हजार रूपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन्।

प्रकाशित मिति : August 7, 2026 at 5:34 pm