१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

‘ब्रोड पिक’को हिमपहिरोमा परेर निर्मल पुर्जासहित ६ नेपाली आरोहीको मृत्यु

१६ साउन, काठमाडौँ । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रोड पिक’ हिमालमा बिहीबार गएको हिमपहिरोमा परेका प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि भएको छ । हिमपहिरोमा परी बेपत्ता भएका उनीहरूमध्ये चारजनाको शव शुक्रबार फेला परेको थियो । बाँकी छ जना भने बेपत्ता नै रहेको बताइएको थियो ।

शनिबार मात्रै सबै आरोहीको मृत्यु भएको आधिकारिक जानकारी ‘निम्सदाइ फाउन्डेसन’ र ‘एलिट एक्सपिडिसन’ले सामाजिक सञ्जालमार्फत गराएको हो । दुवै कम्पनी निर्मल पुर्जाकै हुन् ।

हिम पहिरोमा घटनामा म्याग्दीको दानामा जन्मिएका पूर्वबेलायती गोर्खा निर्मल पुर्जा ‘निम्सदाइ’सँगै जम्मा छ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने अन्य नेपाली आरोहीमा पुरबहादुर गुरुङ, निमा शेर्पा, किलीपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पा रहेका छन् ।

त्यसैगरी, विदेशी आरोहीहरू सोहेल शाखी (पाकिस्तान), वाङ झोङ (चीन), नादिरा अहमद (ओमान), म्यालोरी गेइस (अमेरिका) छन् । सन् २०१९ मा निर्मल पुर्जाले संसारका आठ हजार मिटर अग्ला १४ वटा हिमाल छ महिना छ दिनभित्र आरोहण गरी विश्व कीर्तिमानी कायम गरेसँगै चर्चामा आएका थिए । उनका हिमाल आरोहणसम्बन्धी अन्य कीर्तिमान रहेका छन् ।

हिमपहिराले उनीहरूलाई छ हजार मिटरभन्दा माथिबाट करिब ८०० मिटर तलसम्म बगाएको थियो । खराब मौसमका कारण सो घटनामा तत्काल उद्धार गर्न कठिनाइ भएको थियो ।पुर्जाका व्यावसायिक सहकर्मीसमेत रहेका प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु (डेभिड) शेर्पा शुक्रबार नै पाकिस्तानतर्फ प्रस्थान गरेका थिए ।

मृत्यु भएका नेपाली आरोहीरूमा पुरबहादुर गुरुङ गोरखाका हुन् भने किलीपेम्बा शेर्पा दोलखा, ग्यालु शेर्पा ओखलढुङ्गा, नवाङ थिन्डु शेर्पा र निमा शेर्पा सङ्खुवासभाका हुन् । यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह पनि निर्मल पुर्जासहित सबै मृतक आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रकाशित मिति : August 1, 2026 at 8:51 pm