२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

रोजगार संयोजकको नतिजा प्रकाशित, अधिकांश परीक्षार्थी कम्प्युटर सीप परीक्षामा अनुत्तीर्ण

१३ फागुन, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको छ ।यसअघि माघ २८ गते मन्त्रालयले अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्यता र मापदण्ड पुगेका २ हजार २ सय ६२ जनाको प्रारम्भिक सूची प्रकाशन गरेको थियो ।

प्रारम्भिक सूचीमा रहेका २ हजार २ सय ६२ परीक्षार्थीको शनिवार र आइतबार कम्प्युटर सीपमा आधारित परीक्षा लिइएको थियो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको हो । रोजगार संयोजकको प्रारम्भिक छनोट सुचीमा परेका २ हजार २ सय ६२ उम्मेदहरुमध्ये अधिकांश परीक्षार्थी कम्प्युटर सीप परीक्षामा अनुत्तीर्ण भएका छन् ।

कम्प्युटर सीप परीक्षामा सहभागी  प्रदेश नम्बर ५ का  ३ सय २७ उम्मेदवार मध्येबाट आवश्यक मात्रामा परीक्षार्थी कम्प्युटर सीप परीक्षामा उत्तीर्ण भएपनि अन्य प्रदेशबाट भने आवश्यक मात्रामा परीक्षार्थी उत्र्तीर्ण हुन सकेनन् । प्रदेश नम्बर ५ बाहेक अन्य प्रदेशमा भने कम्प्युटर सीप परीक्षामा कम्तीमा २५ अङ्क प्राप्त गर्ने उम्मेदवारहरुको जागिर पक्का भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रदेश नम्बर ५ बाहेकका अन्य प्रदेशमा कोटा नपुगेमा पुनः आवेदन माग गरी परीक्षा लिने व्यवस्था मिलाइने बताइएकाे छ ।

हालको मापदण्डमा अनुत्तीर्ण हुने परीक्षार्थीलाई प्रतीक्षा सुचीमा पनि नराखिने भएको छ । अन्य प्रदेशमा फारम भरी उत्तीर्ण भएकाहरुलाई पनि अन्य प्रदेशमा नियुक्ति नदिइने भएको छ । जुन प्रदेशमा रोजगार संयोजकका लागि आवेदन दिइएको हो, त्यही प्रदेशभित्र मात्रै नोकरी गर्ने गरी नियुक्ति दिइने मनत्रालयले जनाएको छ ।

प्रकाशित मिति : 17:44