११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

३२औँ कार्गो दिवस साउन १३ मा, ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष कार्यक्रम हुने

११ साउन, काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२औँ कार्गो दिवस २०२६ आगामी साउन १३ गते (जुलाई २९) काठमाडौंको द सोल्टी काठमाडौंमा आयोजना गर्ने भएको छ। ‘Efficient Logistics – Stronger Economy (दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र)’ भन्ने मूल नारासहित आयोजना हुने कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी हुने नेफाले जनाएको छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा नेफाका वरिष्ठ उपाध्यक्ष तथा ३२औँ कार्गो दिवसका संयोजक नरेशकुमार अग्रवालले कार्गो दिवस नेपालमा लजिस्टिक्स तथा फ्रेट फरवार्डिङ क्षेत्रका सरोकारवालाबीच संवाद, सहकार्य र नीति सुधारका लागि महत्वपूर्ण मञ्चका रूपमा स्थापित भएको बताए।

उनका अनुसार कार्यक्रमले सरकार, निजी क्षेत्र, अन्तर्राष्ट्रिय संस्था, आयातकर्ता–निर्यातकर्ता, उत्पादनमूलक उद्योग, बैंक तथा बीमा क्षेत्र, एयरलाइन्स, सिपिङ लाइन र अन्य सरोकारवालाबीच व्यापार सहजीकरण, आधुनिक प्रविधिको प्रयोग, पूर्वाधार विकास तथा लजिस्टिक्स क्षेत्रका चुनौती र सम्भावनाबारे छलफल गर्ने अवसर प्रदान गर्नेछ।

नेफाले हरेक वर्ष जुलाई २९ लाई कार्गो दिवसका रूपमा मनाउँदै आएको छ। यस वर्षको कार्यक्रममा कतार एयरवेज कार्गो र थाइ एयरवेज कार्गो प्लाटिनम प्रायोजक रहेका छन् भने अन्य विभिन्न एयरलाइन्स, बन्दरगाह, सिपिङ लाइन तथा व्यावसायिक संस्थाहरूको पनि सहयोग रहने जनाएको छ।

कार्यक्रमका अवसरमा फ्रेट फरवार्डिङ तथा लजिस्टिक्स क्षेत्रको विकास, विस्तार र व्यापार सहजीकरणमा योगदान पुर्‍याउने संस्था तथा व्यक्तिलाई NEFFA Annual Award 2026 प्रदान गरिनेछ। यसअन्तर्गत नेफा सदस्य, सरकारी तथा गैरसरकारी निकाय, उत्कृष्ट एयरलाइन्स तथा अफलाइन एयरलाइन्सलाई सम्मान गरिनुका साथै लामो समयदेखि यस क्षेत्रमा कार्यरत कर्मचारीलाई सम्मानपत्र प्रदान गरिनेछ।

कार्यक्रममा उद्घाटन सत्र, विशिष्ट अतिथिहरूको सम्बोधन, वार्षिक पुरस्कार वितरण, लजिस्टिक्स तथा व्यापार सहजीकरणसम्बन्धी भिडियो डकुमेन्ट्री प्रस्तुति, सरकारी र निजी क्षेत्रबीच नेटवर्किङ तथा फेलोसिप कार्यक्रम र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागीबीच अनुभव आदानप्रदानका कार्यक्रम समावेश गरिएका छन्।

नेफाले कार्गो दिवस केवल वार्षिक उत्सव नभई नेपालको व्यापार, लजिस्टिक्स र आपूर्ति शृङ्खलाको विकासका लागि नीति निर्माता र निजी क्षेत्रबीच सहकार्य तथा संवाद बढाउने प्रभावकारी मञ्च भएको जनाएको छ। साथै, अन्तर्राष्ट्रिय सहभागितामार्फत नेपालको लजिस्टिक्स क्षेत्रलाई विश्वव्यापी सञ्जालसँग जोड्दै व्यापार सहजीकरण र राष्ट्रिय अर्थतन्त्रलाई थप सुदृढ बनाउन कार्यक्रमले सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : July 27, 2026 at 1:55 pm