११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

सानिमा बैंकको नाफा ३ अर्ब ५५ करोड, लाभांश क्षमता २०.८५ रुपैयाँ

११ साउन, काठमाडाैं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.०१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा २ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो ।

नाफामा भएको वृद्धिसँगै बैंकको लाभांश वितरण गर्ने क्षमता पनि उल्लेख्य रूपमा बढेको छ । बैंकको कुल वितरणयोग्य नाफा २ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । यस आधारमा प्रिफरेन्सियल सेयरधनीलाई दिएर बाँकी रहेको रकमबाट बैंकको प्रतिसेयर लाभांश क्षमता २०.८५ रुपैयाँ देखिएको छ ।  अघिल्लो वर्ष २ अर्ब १० करोड २९ लाख ६ हजार रुपैयाँ वितरणयोग्य नाफा थियो भने १५.४८ प्रतिशत लाभांश क्षमता रहेकाे थियाे ।

गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १० प्रतिशत बढेर ६ अर्ब ९९ करोड ५ लाख ८३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ३५ करोड ५९ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

dainiki.com

समीक्षा वर्षमा बैंकले १ अर्ब ३२ करोड ८० लाख ५७ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ९ अर्ब ७३ करोड २३ लाख १४ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र ५ अर्ब १६ करोड ५१ लाख ७२ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

१५ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब १२ करोड ४५ लाख १५ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन ११ प्रतिशत बढेर २ खर्ब ४९ अर्ब ११ करोड ८० लाख १७ हजार रुपैयाँ र कर्जा प्रवाह १० प्रतिशत बढेर १ खर्ब ९५ अर्ब ८८ करोड ४७ लाख ३० हजार रुपैयाँ पुगेको छ ।

बैंकको खराब कर्जा अनुपात ३.०१ प्रतिशतबाट घटेर २.८७ प्रतिशतमा झरेको छ भने खुद खराब कर्जा १.२० प्रतिशतबाट १.०२ प्रतिशतमा सीमित रहेको छ । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १८.९४ रुपैयाँबाट बढेर २५.७५ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८८.४२ रुपैयाँ रहेको छ भने मूल्य-आम्दानी अनुपात (पीई रेसियो) १३.५९ गुणा रहेको छ ।

प्रकाशित मिति : July 27, 2026 at 9:53 am