१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

‘स्वर्णिम सांगीतिक साँझ’ – एडिलेडमा दीप श्रेष्ठ र रामकृष्ण ढकाल एउटै मञ्चमा

एडिलेड (अष्ट्रेलिया) — नेपाली सङ्गीत आकाशका दुई चर्चित एवं सर्वप्रिय गायक दीप श्रेष्ठरामकृष्ण ढकाल आगामी ३१ जुलाई २०२६, शुक्रबार अष्ट्रेलियाको एडिलेडमा एउटै मञ्चमा प्रस्तुत हुने भएका छन्।

सारङ्गी इभेन्ट्सको आयोजना ‘दीप श्रेष्ठ एवं रामकृष्ण ढकाल – स्वर्णिम सांगीतिक साँझ’ आयोजना हुन लागेको हो।  एडिलेडको स्थानिय एभरेष्ट इभेन्ट सेन्टरमा आयोजना हुने कार्यक्रम साँझ ६ बजेदेखि सुरु हुने सारङ्गी इभेन्ट्सका निर्देशक हेम श्रेष्ठले बताउनु भयो ।

नेपाली सङ्गीत आकाशमा पाँच दशकभन्दा लामो सांगीतिक यात्रा तय गरिसकेका वरिष्ठ गायक श्रेष्ठले तिन पुस्ता देखी नेपाली श्रोताको मन जित्दै आउनुभएको छ। एडिलेडमा आयोजना हुने यस ऐतिहासिक साँझमा श्रोताहरूले उहाँका लोकप्रिय एवं कालजयी गीतहरू प्रत्यक्ष सुन्न पाउनेछन्।

कार्यक्रममा उहाँले आफ्ना सदाबहार गितहरु म त दुर देखि आएँ, म पत्थरको देवता होइन, झस्किएको छ मन मेरो, बितेका कुराले, बादलहरू हो लगायतका कालजयी सिर्जनाहरू ब्याण्डको लाइभ सङ्गीतमा आयोजकले जनाएका छन् । उहाँलाई गिटारमा विक्रम कार्की र तबलामा शम्भु बनियाँसहितको साङ्गीतिक टोलीले साथ दिनेछन ।

त्यसैगरी, आधुनिक नेपाली सङ्गीतका लोकप्रिय गायक रामकृष्ण ढकालले ओराली लागेको हरिणको चाल भो, बाँचुन्जेललाई, प्रियासीका यादहरू जस्ता श्रोतामाझ अत्यन्तै लोकप्रिय गीतहरूमार्फत दर्शकहरूलाई मन्त्रमुग्ध पार्नुहुनेछ।

सारङ्गी इभेन्ट्सका निर्देशक हेम श्रेष्ठले नेपाली सङ्गीतका दुई फरक पुस्ताका प्रतिनिधि तथा लोकप्रिय नक्षत्रहरूलाई एउटै मञ्चमा उभ्याउन पाउनु ठुलो गौरवको विषय भएको बताउनुभएको छ। उहाँले यो साङ्गीतिक साँझ एडिलेडवासी नेपाली समुदायका लागि एक अविस्मरणीय उत्सव बन्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमस्थलको क्षमताअनुसार सीमित १२० सिट मात्र उपलब्ध रहने भएकाले आयोजकले दर्शकहरूलाई समयमै टिकट सुरक्षित गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : July 26, 2026 at 3:05 pm