नबिलको शैक्षिक कर्जा : १ करोडसम्म ऋण, २० वर्षसम्म तिर्न सकिने
५ साउन, काठमाडौँ । वर्तमान समयमा प्रतिस्पर्धात्मक विश्व श्रम बजारमा टिक्नका लागि उच्च शिक्षा अपरिहार्य बनेको छ । तर, गुणस्तरीय शिक्षाका लागि लाग्ने ठूलो खर्च धेरैका लागि चुनौती बन्ने गरेको छ । यही चुनौतीलाई मध्यनजर गर्दै नबिल बैंकले विद्यार्थीहरूको शैक्षिक यात्रालाई वित्तीय अभावका कारण रोकिन नदिने उद्देश्यले ‘नबिल शैक्षिक कर्जा’ सञ्चालनमा ल्याएको छ ।
नबिल बैंकले विद्यार्थीहरूलाई स्वदेश वा विदेशमा अध्ययन गर्नका लागि अधिकतम १ करोड नेपाली रुपैयाँ सम्मको ऋण सुविधा प्रदान गर्ने भएको छ । यो कर्जाले शिक्षण शुल्कमात्र नभई शैक्षिक परामर्श शुल्क, हवाई टिकट, बसोबास खर्च र विदेशी मुद्रा सटही जस्ता विविध पक्षहरूलाई समेत समेट्न सकिने छ । बैंकले शिक्षण संस्थाको शुल्क संरचनाका आधारमा ऋण प्रवाह गर्ने व्यवस्था मिलाएको छ ।

विद्यार्थी र अभिभावकको आर्थिक अवस्थालाई ध्यानमा राख्दै बैंकले अत्यन्तै लचिलो भुक्तानी अवधि तय गरेको छ । ऋणीले अधिकतम २० वर्ष सम्मको अवधिमा ऋण चुक्ता गर्न सक्नेछन् । यस कर्जाको अर्को महत्वपूर्ण विशेषता भनेको ‘ग्रेस अवधि’ हो । अध्ययनको समयमा विद्यार्थीलाई आर्थिक दबाब नपरोस् भनेर बैंकले अध्ययन अवधि वा अधिकतम ४ वर्ष सम्मको ग्रेस अवधि प्रदान गरेको छ । जसले विद्यार्थीलाई आफ्नो करियरमा केन्द्रित हुन मद्दत पुर्याउँछ ।
यो ऋण प्राप्त गर्नका लागि आवेदकको उमेर न्यूनतम १८ वर्ष हुनुपर्ने र ऋण चुक्ता गर्दा अधिकतम ७० वर्ष भन्दा बढी हुनु नहुने सर्त रहेको छ । धितोको हकमा बैंकले केही प्राविधिक मापदण्डहरू तोकेको छ । धितो राखिने जग्गामा कम्तिमा ८ फिट चौडा मोटर गुड्ने बाटो हुनुपर्छ । यस्तै, जग्गा गुठी वा मोहीको हक नलागेको र हाई टेन्सन लाइनबाट टाढा हुनुपर्ने प्रावधान छ । धितोको पूर्ण सुरक्षाका लागि लालपुर्जा, नक्सा, चार किल्ला प्रमाणित कागजात र घर भएमा निर्माण सम्पन्न भएको प्रमाणपत्र अनिवार्य गरिएको छ ।

बैंकले ऋणको सुरक्षा र भुक्तानीको सुनिश्चितताका लागि ऋणीको आम्दानीको स्रोतलाई विशेष प्राथमिकतामा राखेको देखिन्छ । तलब, व्यवसाय, घर बहाल, पेन्सन वा वैदेशिक रोजगारीबाट हुने आम्दानीलाई बैंकले मान्यता दिने जनाएको छ । यद्यपी ऋणको मासिक किस्ता ऋणीको कुल मासिक आम्दानीको ५० प्रतिशतभन्दा बढी हुनुहुँदैन । यसले ऋणीलाई भविष्यमा पर्न सक्ने सम्भावित आर्थिक संकटबाट जोगाउन पनि सहयोग पुर्याउँछ ।
नबिल बैंकले यो ऋण स्वीकृत गर्दा ०.७५% प्रशासनिक शुल्क लाग्ने जनाएको छ। विशेष गरी विदेश जाने विद्यार्थीहरूको हकमा, यदि कुनै कारणवश भिसा अस्वीकृत भएमा, समय अगावै ऋण चुक्ता गर्दा बैंकले कुनै पनि ‘प्रिपेमेन्ट’ शुल्क नलिने जनाएको छ यसले गर्दा विद्यार्थीका लागि ठूलो राहत मिल्नेछ ।

सरल कागजी प्रक्रिया, छिटो स्वीकृति र पारदर्शी सेवाका कारण नबिल बैंकको शैक्षिक कर्जा नेपाली विद्यार्थीहरूका लागि उच्च शिक्षा हासिल गर्ने एक भरपर्दो माध्यम हुने अपेक्षा गर्न सकिन्छ । यसले आर्थिक अभावका कारण युवाको प्रतिभा खुम्चिनुपर्ने अवस्थाको अन्त्य गर्दै उज्ज्वल भविष्यको ढोका खोल्न महत्वपूर्ण भूमिका खेल्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति : July 21, 2026 at 6:43 am





