५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

कतै जाँदै हुनुहुन्छ ? बाढीपहिरोले यी राजमार्ग छन् अवरुद्ध

४ साउन, काठमाडौं । लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका ९ प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार, कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्डमा पूर्ण तथा आंशिक अवरूद्ध छ ।

कोशी प्रदेशको भोजपुर नगरपालिका-५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग भने बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ । इलाम नगरपालिका-९ राजदुवाली र पाँचथरको याङवरक गाउँपालिका-१ खोबरे खोलास्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ ।

यस्तै, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ माटेखोला क्षेत्रमा मध्यपहाडी लोकमार्गको दिक्तेल–भोजपुर सडकखण्ड पनि पहिरोबाट पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेशमा सम्भावित बाढीका कारण बिपी राजमार्ग सञ्चालनमा रोक लगाइएको र काठमाडौँ-हेटौँडा कान्ति लोकपथमा सम्भावित बाढी तथा पहिरो जोखिमका कारण अर्को सूचना नभएसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

dainiki.com

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जुरीखोला र कोदारीस्थित अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुण्डास्थित पासाङल्हामु सडक खण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित पृथ्वी राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिस्मारखानी क्षेत्रमा पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालन रहेतापनि जवाङखोलास्थित सडक भने पूर्ण रूपमा बन्द रहेको छ ।

प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेको जनाउँदै प्रहरीले यात्रा अघि सम्बन्धित निकायको पछिल्लो सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : July 20, 2026 at 12:27 pm