३० असार २०८३, मंगलबार | Wed Jul 15 2026

शिक्षा सेवामा ५० वर्ष समर्पित नुवाकोटका भेषनाथ पुडासैनीको निधन

३१ असार, नुवाकोट । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर १ निवासी तथा जिल्लाका अग्रणी शिक्षाप्रेमी एवं समाजसेवी भेषनाथ पुडासैनीको ९० वर्षको उमेरमा निधन भएको छ।

परिवारका अनुसार पुडासैनीको २०८३ साल असार २९ गते सोमबार राति उपचारको क्रममा काठमाडाैँमा पुडासैनीको निधन भएको हो । पुडासैनीको पार्थिव शरीरको पशुपतिनाथस्थित आर्यघाटमा हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिएको छ।

स्वर्गीय पुडासैनी तत्कालीन बेलकोट गाउँ विकास समिति–९ (हाल बेलकोटगढी नगरपालिका–१) को सेरा क्षेत्रका स्थायी बासिन्दा थिए । उनले स्थानीय शिक्षा क्षेत्रको विकासमा करिब पाँच दशकसम्म निरन्तर योगदान पुर्‍याउएका थिए ।

पुडासैनी बेलकोट भन्ज्याङ माध्यमिक विद्यालय स्थापना हुनुभन्दा आठ वर्षअघिदेखि नै विद्यालयको व्यवस्थापन तथा शैक्षिक अभियानमा सक्रिय र वि.सं. २०२२ सालदेखि २०७२ सालको विनाशकारी भूकम्पसम्म विद्यालय व्यवस्थापन समिति तथा सल्लाहकार समितिका विभिन्न जिम्मेवारी सम्हाल्दै विद्यालयको शैक्षिक उन्नयन, संस्थागत विकास र सामाजिक सेवामा उल्लेखनीय भूमिका निर्वाह गरेको सोही विद्यालयका पूर्व शिक्षक नारायण खनालले जानकारी दिए ।

पुडासैनीको निधनसँगै बेलकोटगढीले शिक्षा र समाजसेवामा समर्पित एक अनुभवी अभिभावक गुमाएको भन्दै स्थानीयवासीले दुःख व्यक्त गरेका छन् । विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूले स्वर्गीय पुडासैनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : July 15, 2026 at 1:21 am