२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

नेपाल टेलिकमकाे प्रबन्ध निर्देशकमा अर्यालको पुनर्बहाली

२९ असार, काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल पुनर्बहाली भएकी छिन् । प्रबन्ध निर्देशक अर्यालसहितका टेलिकमका पदाधिकारीहरुमाथी लागेको बिलिङ प्रणालीको खरिद गर्दा ३३ करोड रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरेको भन्ने आरोपलाई विशेष अदालतबाट सफाइ दिएसँगै उनी पुनरवहाली भएकी हुन् ।

विशेष अदालतबाट आफूविरुद्ध लागेको आरोपमा सफाइ पाएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको असार २६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उनको निलम्बन फुकुवा गरिएको हो।

पुनर्बहालीसँगै पदबहाली कार्यक्रममा सम्बोधन गर्दै प्रबन्ध निर्देशक अर्यालले संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न कर्मचारीले डराउन नपर्ने बताइन्। उनले कर्मचारीमाथि विगतमा लागेको आरोप र भ्रम अन्ततः सत्यबाट हटेको उल्लेख गर्दै आफ्नो अनुपस्थितिमा संस्थालाई नेतृत्व र सहयोग गर्ने सम्पूर्ण टोलीप्रति आभार व्यक्त गरिन्।

अर्यालले कम्पनीमा प्रक्रियागत सुधार आवश्यक रहेको औंल्याउँदै आगामी दिनमा आन्तरिक व्यवस्थापनसँगै बाह्य सरोकारलाई पनि ध्यानमा राखेर काम गरिने बताइन्। नेपाल सरकारको नीति तथा मार्गनिर्देशनअनुसार सत्यनिष्ठ र पारदर्शी रूपमा काम गर्दै नेपाल टेलिकमप्रतिको जनविश्वास र बजारको साख थप मजबुत बनाउने तथा सेवालाई अझ ग्राहकमैत्री बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।

प्रकाशित मिति : July 13, 2026 at 5:48 pm