नेयमारको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम
२२ असार, काठमाडौँ । ब्राजिलका अनुभवी स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका छन्। सोमबार बिहान सम्पन्न फिफा विश्वकपको अन्तिम १६ को खेलमा ब्राजिल नर्वेसँग २–१ गोलअन्तरले पराजित भई प्रतियोगिताबाट बाहिरिएलगत्तै उनले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुंगिएको घोषणा गरेका हुन्।
३४ वर्षीय नेयमारले ब्राजिलका लागि १२९ अन्तर्राष्ट्रिय खेल खेल्दै ८० गोल गरेका छन् । उनी ब्राजिलको राष्ट्रिय टोलीको इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडीका रूपमा अन्तर्राष्ट्रिय करिअर समाप्त गर्दैछन्।
खेलपछि भावुक देखिएका नेयमारले आफ्नो अन्तर्राष्ट्रिय यात्राको अन्त्य भएको पुष्टि गर्दै भने, “मैले सकेसम्म सबै प्रयास गरेँ। मेरो राष्ट्रिय टोलीको यात्रा यही मेटलाइफ स्टेडियमबाट सुरु भएको थियो र यहीँ आएर समाप्त भयो। अब यो अध्याय सकिएको छ।”

नेयमारले सन् २०१० मा ब्राजिलको सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। त्यसयता उनले चार संस्करणको विश्वकपमा सहभागिता जनाए भने दुई ओलम्पिकमा पनि ब्राजिलको प्रतिनिधित्व गरे। सन् २०१२ को ओलम्पिकमा उनले रजत पदक जितेका थिए भने सन् २०१६ को रियो ओलम्पिकमा कप्तानको भूमिकामा टोलीलाई ऐतिहासिक स्वर्ण पदक दिलाएका थिए।
सन् २०२६ को विश्वकपमा भने नेयमारको भूमिका सीमित रह्यो। उनले दुई खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। समूह चरणमा स्कटल्यान्डविरुद्ध दोस्रो हाफमा मैदान छिरेका उनले नर्वेविरुद्ध इन्जुरी समयमा पेनाल्टीमार्फत प्रतियोगितामा आफ्नो एकमात्र गोल गरेका थिए।
यता, ब्राजिललाई पराजित गर्दै क्वार्टरफाइनल पुगेको नर्वेले अब जुलाई ११ मा मियामीमा हुने खेलमा मेक्सिको र इंग्ल्यान्डबीचको विजेतासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित मिति : July 6, 2026 at 7:25 am





