डिगाड आधारभूत अस्पतालमा डायलाइसिस सेवा सञ्चालन
बागलुङ । यहाँस्थित बडिगाड आधारभूत अस्पतालले सोमबारदेखि डायलाइसिस सेवा सुरु गरेको छ । सङ्घीय सरकारले प्रदान गरेका पाँच थान रक्त शुद्धीकरण उपकरण प्राप्त गरेपछि, मिर्गौला फेल भएका बिरामीलाई सो सेवा दिन थालिएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।
गाउँपालिका र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबीच सम्झौता भएपछि उक्त उपकरण प्राप्त भएको थियोे । यसअघि त्यस क्षेत्रका मिर्गाैला रोगीले डायलाइसिस सेवाका लागि धौलागिरि प्रादेशिक अस्पताल तथा अन्य स्थानमा जानुपर्ने बाध्यता थियो ।
डायलाइसिस सेवा सञ्चालन भएबाट गाउँपालिकासहित बागलुङको पश्चिमी क्षेत्र, गुल्मी तथा आसपास जिल्लाका मिर्गौला रोगी लाभान्वित हुने भएका छन् । मध्यपहाडी पुष्पलाल लोकमार्ग नजिकै रहेको बडिगाड आधारभूत अस्पतालले उक्त सेवा दिन थालेपछि राजमार्गमा हुने दुर्घटनाका बिरामीलाई उपचार सेवामा टेवा मिल्ने भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बडिगाड आधारभूत अस्पताललाई आवश्यक प्रक्रिया पूरा गरी प्रदेश सरकारको मातहतमा ल्याउन सकिने बताउनुभयो ।
प्रकाशित मिति : July 2, 2026 at 5:33 pm




