इन्धनको मूल्यमा भारी कटौती हुँदा २ प्रतिशत मात्रै घट्यो गाडी भाडा
१८ असार, काठमाडाैं । इन्धनको मूल्यमा भारी कटौती भए पनि यातायात भाडादर भने २ प्रतिशत मात्रै घटेको छ। यातायात व्यवस्था विभागले सूचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य समायोजनपछि प्रचलित भाडादर पुनरावलोकन गरिएको जनाएको छ।
विभागले यात्रुवाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडामा समान २/२ प्रतिशत समायोजन गरेको छ।

विभागले यात्रुवाहक सवारीमा ९.८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १२.९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १४.३ प्रतिशतले भाडा बढ्नुपर्नेमा सबै प्रकारका सवारीसाधनको भाडादर ५ प्रतिशत मात्रै बढाएकाले अहिले भाडादर कम घट्न पुगेको दाबी गरेको छ।
नेपाल आयल निगमले बुधबारदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलमा २० रुपैयाँ, डिजेल र मट्टितेलमा ३० रुपैयाँ मूल्य घटाएको थियो। काठमाडौंमा पेट्रोल प्रतिलिटर १ सय ९७ रुपैयाँ तथा डिजेल र मट्टितेल १९५ रुपैयाँमा झरेको छ।
प्रकाशित मिति : July 2, 2026 at 5:09 pm





