प्रहरीको हत्या गरेर एमालेबाट सांसद भएका कोइरीलाई पाँच वर्ष कैद
१७ असार, काठमाडाैँ । ड्युटीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको बर्बरतापूर्वक हत्या गरेको मुद्दामा नेकपा (एमाले)का नेता लक्ष्मी महतो (कोइरी) दोषी ठहर भएका छन । उच्च अदालत जनकपुरले जिल्ला अदालत महोत्तरीको फैसला उल्ट्याएर कोइरीलाई पाँच वर्ष कैद हुने अादेश गरेको छ ।
उच्च अदालत जनकपुरले फैसलालाई केही उल्टी गर्दै नयाँ फैसला सुनाएको हो । कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले तीन जनाको जन्मकैद सदर गरेको छ । उच्चले प्रदीप साह माझी, सञ्जय कुमार साह र मोहन ठाकुरको हकमा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते गरेको जन्मकैदको फैसलालाई सदर गरेको हो ।
अनुसन्धानका क्रममा उनीहरूले कसूर स्वीकार गरेको, एम्बुलेन्स चालक तथा अन्य प्रत्यक्षदर्शीहरूले घटनामा उनीहरूको संलग्नता पुष्टि गरेको र सञ्जय कुमार साहको हकमा फोटोहरूबाट समेत संलग्नता देखिएको भन्दै उच्चले फैसला सदर गरेको हो ।

यस्तै लक्ष्मी महतो र पवन कापरसहित ६ जनालाई कैद सजाय जिल्ला अदालतको फैसलामा केही परिवर्तन गर्दै उच्च अदालतले अन्य ६ जना प्रतिवादीहरूलाई कैद सजाय सुनाएको छ । जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डे तथा सफाइ पाएका लक्ष्मी महतो र पवन कापरलाई उच्च अदालतले ५ (पाँच) वर्ष कैदको सजाय सुनाएको छ ।
यी ६ जना प्रतिवादीहरूको हकमा थमन विकलाई सिधै प्रहार गरेको वस्तुनिष्ठ प्रमाण फेला नपरे पनि, ज्यान मार्ने संयोग पर्ने कार्यमा संलग्न रहेको र अन्य प्रतिवादीहरूको बयानमा पोलिएको आधारमा मुलुकी ऐन ज्यान सम्बन्धी महलको १७(२) बमोजिम सजाय तोकिएको उल्लेख छ । महोत्तरी जिल्ला अदालतले यसअघि लक्ष्मी महतो र पवन कापरलाई सफाइ दिएको थियो भने अन्यलाई जन्मकैदको फैसला सुनाएको थियो । उच्च अदालतको यो फैसलासँगै अब उनीहरू सबैले ५ वर्ष कैद भुक्तान गर्नुपर्नेछ ।
के हो थमन विक प्रकरण ?
मधेश आन्दोलनको त्यो क्रुर घटना र उच्च अदालतको फैसलानेपालको राजनीतिक र कानुनी इतिहासमा २०७२ सालको मधेश आन्दोलनका क्रममा महोत्तरीमा घटेको एउटा घटनाले देशव्यापी रूपमा ठुलो तरङ्ग पैदा गरेको थियो । त्यो घटना थियो ड्युटीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको बर्बरतापूर्वक गरिएको हत्या । लामो समयसम्म राजनीतिक संरक्षण र कानुनी दाउपेचको केन्द्र बनेको थियो ।
२०७२ साल भदौ २५ गते मधेश आन्दोलन उत्कर्षमा पुगेका बेला हेटौँडामा संयुक्त राष्ट्रसंघीय (संयुक्त राष्ट्र संघ) मिसनको परीक्षा दिएर असई थमन विक आफ्नो कार्यस्थल महोत्तरी फर्किँदै थिए। महोत्तरीको जलेश्वर नजिक पुग्दा आन्दोलनकारीहरूको एक समूहले उनलाई घेराबन्दी गर्यो । ज्यान जोगाउन विक नजिकैको पोखरीमा हामफालेका थिए । तर, आक्रोशित भीडले उनलाई पोखरीबाट बाहिर निकालेर लाठी र मुक्काले निर्घात कुटपिट गर्यो । जसका कारण उनी गम्भीर घाइते भए। त्यसपछि एम्बुलेन्समा राखेर अस्पतालतर्फ लगियो ।
सशस्त्र प्रहरी र जनपद प्रहरीको टोलीले घाइते विकको उद्धार गरी सुरुमा जिल्ला अस्पताल जलेश्वर पुर्यायो। त्यहाँ उनको प्राथमिक उपचार त भयो, तर अवस्था जटिल बन्दै गएपछि उनलाई जिल्ला अस्पतालकै एम्बुलेन्समा राखेर थप उपचारका लागि जनकपुरतर्फ पठाइयो । एम्बुलेन्स महोत्तरीको तत्कालीन अनैठा (हाल जलेश्वर नगरपालिका वडा नं. ८, सनोखडा) पुग्दा आन्दोलनकारीको भीडले बाटोमै रोक्यो । भीडले मानवीय संवेदनासमेत बिर्सिएर एम्बुलेन्सभित्र छटपटाइरहेका घाइते विकलाई जबरजस्ती बाहिर घिसारेर निकाल्यो । उनलाई सडकै छेउको धान खेतमा पुर्याएर लाठी, ढुङ्गा र घरेलु हतियारले प्रहार गरी घटनास्थलमै क्रुरतापूर्वक हत्या गरियो र आन्दोलनकारीले विकको शव ओसार्ने एम्बुलेन्समा समेत आगो लगाइदिए ।

ओलीको संरक्षणमा सधैँ फरार
यस घटनामा जोडिएका मुख्य राजनीतिक पात्र लक्ष्मी महतो कोइरीको हकमा सुरुमा जिल्ला अदालत महोत्तरीले निर्दोष ठहर गर्दै सफाइ दिएको थियो । जिल्ला अदालतको उक्त फैसलापछि उनी थुनामुक्त भई खुला राजनीतिमा सक्रिय रहेका थिए ।
नेकपा ९एमाले०का अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहमतिमा कोइरीले जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएका थिए । ओली र देउवाको सहमतिपछि एमालेका तत्कालीन सांसद कोइरीलले जिल्ला अदालबाट सफाइ पाएका थिए भने बदलामा कांग्रेस नेता बालकृष्ण खाँडले नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुट्ने अवसर पाएका थिए । यो २०८० साल मंसिरमा भएको घटना हो । कांग्रेस र एमालेको भागवण्डा गरेर कोइरीसँग खाँणको विषय साँटेर सौदाबाजी गरेका थिए ।
तर, उच्च अदालत जनकपुरले ओली र देउवाको त्यो समझदारीमा धोती लाग्ने गरी जिल्ला अदालतको अघिल्लो फैसलालाई उल्टाउँदै ऐतिहासिक निर्णय सुनाएको छ । उच्च अदालतले पूर्वसांसद कोइरीलाई थमन विक हत्या प्रकरणमा दोषी ठहर गर्दै ५ वर्ष कैदको सजाय तोक्यो । कोइरी ओलीकै संरक्षणमा प्रहरीसँग उम्कदैै आएका थिए ।
यसका साथै अदालतले उक्त जघन्य हत्याकाण्डमा संलग्न अन्य प्रतिवादीहरूमाथि पनि कडा फैसला सुनाएको छ जसमा प्रमुख तीन आरोपीहरूको जन्मकैदको सजायलाई सदर गरिएको छ भने मधेश प्रदेशका तत्कालीन सांसद अभिराम शर्मासहित ६ जनालाई ५ वर्ष कैदको सजाय तोकिएको छ। यो फैसलाले राजनीतिक आवरणमा हुने जघन्य अपराधहरू कानुनी दायराबाट उम्कन सक्दैनन् भन्ने नजिर स्थापित गरेको छ।


प्रकाशित मिति : July 1, 2026 at 11:33 pm









