१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

त्रिवि सेवा आयोगको अध्यक्षमा पहिलो पटक विश्वविद्यालयबाहिरबाट नेतृत्व

१७ असार, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्व सचिव किशोर थापालाई नियुक्त गरेको छ ।  त्रिविको कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले पूर्व शिक्षा सचिव समेत रहेका थापालाई आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् ।

किशोर थापा नेपालका एक प्रख्तात र निष्कलंक छवि भएका पूर्वसचिव, आर्किटेक्ट एवं सहरी पूर्वाधार विज्ञ हुन्। तत्कालीन साझा पार्टीको तर्फबाट २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौंको मेयर उम्मेदवार भएर थापाले १८,४९६ मत समेत पाएका थिए ।

थापा वि.सं. २०३१ सालको एसएलसी परीक्षाका बोर्ड टपर हुन । थापाले म्यानमारको राष्ट्रिय आवास नीति निर्माणमा अन्तर्राष्ट्रिय विज्ञको रूपमा समेत काम गरिसकेका छन् । निजामती सेवामा प्रवेश गरी थापाले ३२ वर्षसम्म विभिन्न सरकारी निकायमा काम गरे । थापाले नेपाल सरकारको सहरी विकास मन्त्रालय, शिक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, निर्वाचन आयोग र जल तथा ऊर्जा आयोगको सचिवको रूपमा सफलतापूर्वक जिम्मेवारी सम्हालेका थिए ।

यस्तै सरकारले सदस्यमा प्रा डा रोजिना मास्केको नियुक्ति गरेको छ ।

प्रकाशित मिति : July 1, 2026 at 6:24 pm