‘डाक्टर’ को आवरणमा गैरकानूनी उपचारमा रहेकी चेतना पौडेल
१३ असार, काठमाडौँ । लामो समयदेखि आफूलाई ‘डाक्टर’ को रूपमा चिनाउँदै बिरामीको उपचार र औषधि सिफारिसमा संलग्न रहेकी चेतन ए.एम. पौडेल (चेतना पौडेल) अहिले प्रहरी हिरासतमा छिन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) ले उनलाई काठमाडौँको चन्द्रागिरि-८ स्थित ‘स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्ट’ बाट पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचपीसी) को पत्र अनुसार, पौडेल प्राकृतिक चिकित्सा र योग विज्ञानमा स्नातक (Bachelor of Naturopathy & Yogic Sciences) विषयको प्रथम तहमा दर्ता भएकी व्यवसायी हुन् । तर, उनले आफ्नो नामको अगाडि ‘डाक्टर’ (Dr.) उपाधि प्रयोग गर्दै आएकी थिइन्, जुन प्रयोग गर्न परिषद्को ऐन र नियमावलीले स्पष्ट अनुमति दिएको छैन ।
परिषद्ले साढे पाँच वर्ष अध्ययन गरेका यस्ता विधाका विद्यार्थीलाई ‘डा.’ उपाधि दिने विषयमा मन्त्रालयमा छलफल गरिरहेको छ तर अहिलेसम्म कुनै कानूनी व्यवस्था भएको छैन । पौडेलले डाक्टर भनेर बिरामी पुर्जीमा मात्र नभई सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटक र इन्स्टाग्राम मा समेत आफ्नो नामको अगाडि ‘डाक्टर’ लेखेर प्रचार-प्रसार गर्दै आएको प्रमाणहरू छरपस्ट छन ।

उपलब्ध बिरामी पुर्जीहरूले उनी आधुनिक चिकित्सा (एलोपेथी) का डाक्टरले जस्तै गम्भीर रोगहरूको निदान र उपचारमा संलग्न रहेको पुष्टि गर्छन्। उनले बिरामीलाई मधुमेह, उच्च रक्तचाप र रगतमा बोसोको मात्रा बढी भएको जस्ता गम्भीर रोगको निदान गर्ने गरेको देखिन्छ । उनले बिरामीहरूलाई सीटी स्क्यान, रगत परीक्षण लगायतका ल्याब परीक्षणहरू सिफारिस गर्ने गरेको पनि पुर्जीबाट खुल्छ ।
उनले खानपान र जीवनशैलीमा जोड दिएको देखिन्छ तर नेपाल मेडिकल काउन्सिलमा दर्ता नभई ‘डाक्टर’ को हैसियतमा यस्तो अभ्यास गर्नु कानून विपरित मानिन्छ। काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को ‘इलाज सम्बन्धी कसूर’ अन्तर्गत थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
प्रहरीले बरामद गरेका बिरामी पुर्जीमा के छ ?
प्रहरीले बरामद गरेका बिरामी पुर्जीहरूको मसिनो गरी अध्ययन गर्दा चेतना पौडेलले ‘स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्ट’ को नाममा बिरामीहरूको विस्तृत स्वास्थ्य परीक्षण र आधुनिक चिकित्सा प्रणाली अनुसारको निदान गर्ने गरेको देखिन्छ। ती पुर्जीहरूमा निम्न विवरणहरू फेला परेका छन्:
विस्तृत स्वास्थ्य विवरण (Vital Signs): पुर्जीमा बिरामीको ब्लड प्रेसर (BP), नाडीको गति (Pulse), उचाई (Height) र तौल (Weight) जस्ता आधारभूत विवरणहरू अनिवार्य रूपमा रेकर्ड गरिएको छ ।
मुख्य स्वास्थ्य समस्याहरू (Chief Complaints): बिरामीहरूले लामो समयदेखि भोग्दै आएका समस्याहरू जस्तै: छालाको समस्या (Skin rashes), शरीरका विभिन्न भागमा दुखाइ (Multiple aches and pain), अपच (Indigestion), ग्यास्ट्रिक (Acid reflux), कब्जियत (Constipation), अनिन्द्रा (Insomnia), र बिहानपख हुने शरीरको कडापन (Morning stiffness) जस्ता समस्याहरू टिपोट गरिएको छ ।
दीर्घरोगको निदान: उनले बिरामीहरूमा मधुमेह (DM), उच्च रक्तचाप (HTN), र रगतमा बोसोको असन्तुलन (Dyslipidemia) जस्ता दीर्घरोगहरू रहेको उल्लेख गरेकी छिन् [१]।
विस्तृत प्रयोगशाला परीक्षण सिफारिस: पुर्जीहरूमा आधुनिक प्रयोगशालामा गरिने रगतका विभिन्न परीक्षणहरू जस्तै: FBS (सुगर), HbA1c, TSH (थाइराइड), सुगरको अवस्था (PP), मिर्गौला र कलेजोको कार्य क्षमता (RFT, LFT), रगतमा हेमोग्लोबिनको मात्रा (Hb) लगायतका परीक्षण रिपोर्टहरू उल्लेख गरिएको छ ।
रेडियोलोजी र अन्य परीक्षण: एउटा पुर्जीमा सीटी स्क्यान (CT Scan – Coronary artery) जस्तो जटिल परीक्षणको विवरण समेत उल्लेख छ ।
उपचार र सल्लाह: उपचारको रूपमा उनले मुख्यतया खानपानको योजना (Diet Plan), जीवनशैली परिवर्तन, घाममा बस्ने (Sunbath) र व्यायाम गर्न सल्लाह दिएको देखिन्छ ।
‘डाक्टर’ उपाधिको प्रयोग: सबैभन्दा महत्त्वपूर्ण कुरा, पुर्जीको मुनिपट्टि ‘DrChetana Paudel’ भन्दै फेसबुक, युट्युब, टिकटक र इन्स्टाग्राममा पछ्याउन (Follow) अनुरोध गरिएको छ, जसले उनले आफूलाई ‘डाक्टर’ कै रूपमा स्थापित गर्न खोजेको पुष्टि गर्छ ।
नेपालको प्रचलित कानून मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १९ (इलाज सम्बन्धी कसूर) अनुसार यस प्रकारको कार्यमा हुने सजायको व्यवस्थामा अनुमति विना इलाज गर्न नहुने (दफा २३०) उल्लेख छ । कसैले पनि कानून बमोजिम इलाज गर्न पाउने अनुमति प्राप्त नगरी वा अधिकार नभई कसैको इलाज गर्न वा औषधि खान दिनु हुँदैन । यसको उल्लंघन गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ।
प्रकाशित मिति : June 27, 2026 at 6:46 am









