१५ पुष २०८२, मंगलवार | Tue Dec 30 2025

सरकारको राम्रा कामबाट डराएर सडकमा नआउन कांग्रेसलाई श्रममन्त्री विष्टको आग्रह

८ फागुन, गुल्मी । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारको राम्रा कामबाट डराएर सडकमा नआउन कांग्रेसलाई आग्रह गरेका छन । गृहजिल्ला गुल्मीको मुसिकोट नगरपालिका–१ पौदीअमराई अरेवाको जनज्योती माध्यमिक विद्यालय आयोजित कार्यक्रममा बुधबार मन्त्री विष्टले सरकारले छोटो समयमा गरेका राम्रा कामहरुदेखि डराएर प्रतिपक्षले गलत प्रचार गर्न नहुने बताए ।

उनले अहिल्यै आत्तिएर सडकमा आउनु आवश्यक नरहेको भन्दै आगामी ४ वर्षमा सरकारले धेरै नमुना काम गर्ने बताए । सरकारले अहिलेसम्म गरेका काम कति राम्रा र कति नराम्रा भन्ने विषयमा आफु जतिबेला पनि समीक्षा गर्न तयार रहेको पनि मन्त्री विष्टले बताए ।

उनले भने ‘सुखी नेपाली र समृद्ध नेपाल निमार्ण गर्नका लागि सरकारले काम अगाडि बढाएको छ ।’ मन्त्री विष्टले मुलुक विगतको तुलनामा धेरै राम्रो स्थितिमा रहेको भन्दै उनले आर्थिक समृद्धितर्फ लैजान सबैको ध्यान केन्द्रीत हुनुपर्नेमा जोड दिए । मन्त्री विष्टले अहिलेको सरकारले केही काम गरेन भन्नु पूर्वाग्राह भएको बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार २२:४२