प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमालेको आपत्ति
१८ जेठ,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाहले सङ्घीय संसद्मा व्यक्त गरेको धारणा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताजस्ता संवेदनशील विषयसँग सम्बन्धित भएकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासचिव शंकर पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा एमालेले प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट ऐतिहासिक तथ्य, प्रमाण र स्थापित राष्ट्रिय अडानविपरीत अभिव्यक्ति आउनु दुःखद, गैरजिम्मेवार तथा राष्ट्रहितविपरीत भएको उल्लेख गरेको छ।
एमालेले नेपालको भूमि, सीमा र राष्ट्रिय स्वाधीनतासम्बन्धी विषय कुनै दल, सरकार वा व्यक्तिको मात्र सरोकार नभई सम्पूर्ण नेपाली जनताको साझा राष्ट्रिय संकल्प भएको जनाएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक दाबी र राष्ट्रिय एकतालाई कमजोर बनाउने काम गरेको एमालेकाे आरोप छ।
विज्ञप्तिमा प्रधानमन्त्री शाहलाई कूटनीतिक मर्यादाको पालना गर्न र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि मार्ग प्रशस्त गर्न माग गरिएको छ । ‘प्रधानमन्त्री वालेन्द्र शाहको उक्त गैरजिम्मेवार अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डतासम्बन्धी विषयमा सरकारलाई स्पष्ट, तथ्यपरक र जिम्मेवार ढंगले प्रस्तुत हुन जोडदार माग गर्दछ । नेपालको एक इन्च भूमि पनि कसैलाई छोड्न नसकिने अडानमा सिंगो देश अडिग छ’, विज्ञप्तिमा भनिएको छ ।


प्रकाशित मिति : June 1, 2026 at 2:12 pm









