पलेँटीमा अग्रज गीतकार शिवशंकर थापा
१४ जेठ, काठमाडौं । प्रत्येक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको ‘आर’सालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेंटीमा आगामी शुक्रबार सुप्रसिद्ध गीतकार शिवशंकर थापाका गीति रचनाहरू प्रस्तुत हुने भएका छन् ।
पलेँटी कार्यक्रम आजभन्दा २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो । शिवशंकर थापा लामो समयदेखि झापाको विर्तामोडमा रहेर साहित्य साधना गरिरहेका शब्द-शिल्पी हुन् । शिवशंकर नेपाली साङ्गीतिक जगतका सम्पूर्ण नेपालीभाषी माझ स्थापित नाम हो ।
थापाका अधिकांश गीति रचनालाई गायक तथा सङ्गीतकार दीप श्रेष्ठले धुन भरेर गाएका छन् । श्रेष्ठले धुन भरेका गीतहरू- ‘भन्थी मेरी उनी’, ‘विधुवाले सिन्दूरको रहर’, ‘म त आकाशको जून हुँ’, ‘मेरो आँखामा हरदम’ लामो समयदेखि उत्तिकै लोकप्रिय रहँदै आएका छन् ।
उल्लेखित गीतका साथै गीतकार थापाले रचेका गीतहरू- ‘हावासँगै बगुँ भन्छ’, ‘मेरो रहर ब्यूँझिएर’, ‘केही ल्याउन सकिनँ’, पनि उत्तिकै लोकप्रिय रहँदै आएका छन् । जसलाई सङ्गीतकार सुवर्ण लिम्बू र प्रकाश गुरुङले धुन भरेका हुन् ।
गीतकार थापाका अनुज पुस्ताका सङ्गीतकार आभासले पनि उनका शब्दमा भरखरै सहकार्य गरेका छन् । ‘म त अक्षरको मान्छे हुँ, शिरदेखि पढ या पाउदेखि पढ’ बोलको गीतलाई पलेँटीका कण्ठ-शिल्पीले पहिलोपटक मञ्चमा प्रस्तुत गर्नेछन् । यसका साथै कार्यक्रममा सङ्गीतकारहरू बलराम समाल, युवराज पोर्तेल, मणी बर्देवाले धुन भरेका रचनाहरू पनि प्रस्तुत हुनेछन् ।
यसपालीको पलेँटीमा कण्ठ-शिल्पी अभिज्ञा घिमिरे र रुपक चौधरीले शिवशंकर थापाका सम्पूर्ण रचनाहरूलाई आफ्ना कण्ठले गुञ्जायमान बनाउने छन् ।
पलेँटीका निम्ति काठमाडौं आइपुगेका गीतकार शिवशंकर थापा भन्छन्- ‘पलेँटीमा सहभागी हुन पहिलेदेखि नै अनुरोध भएको हो । स्वास्थ्यको प्रतिकूलताले गर्दा, बल्ल मौका जुर्यो । जीवनको उत्तरार्धमा यस कार्यक्रमसँग जोडिन पाउँदा खुशी लागेको छ । पलेँटीले श्रष्टाहरूलाई मञ्चमा उतारेर उच्चतम सम्मान गर्दै आएको छ । यो लहरमा मिसिन पाएँ; आभारी छु ।’
यसपालीको कार्यक्रम बारे पलेँटीका संयोजक आभासको भन्छन् – ‘सानै उमेरदेखि म शिवदाइका शब्दको फ्यान हुँ ! उहाँसँग तीन दशक पहिले नै साङ्गीतिक सङ्गत गरेको अनुभव समेत छ मसँग । त्यसलाई पलेँटीमार्फत् ताजा गराउन पाएकोमा औधी खुशी लागेको छ ।
पलेँटी कार्यक्रम यही मे महिनाको अन्तिम शुक्रबार; २९ तारिखका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा हुने यस कार्यक्रमको टिकेट www.paleti.com.np मा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ ।
‘आर’शालामा उपस्थित हुन असमर्थ सङ्गीतप्रेमीका निम्ति अनलाइनबाटै प्रत्यक्ष हेर्न Pay-Per-View को व्यवस्था पनि गरिएको छ । त्यसका निम्ति पलेँटीको वेभ साइटमा रहेको Purchase Live Access बटनमा क्लिक गरेर आफ्नो वालेट प्रयोग गर्नुपर्ने हुन्छ ।
प्रकाशित मिति : May 28, 2026 at 12:47 pm









