दीपक भट्ट प्रकरणमा सीआईबीको कडा कदमः ५६ व्यवसायीको सेयर रोक्का गर्न पत्र
१४ जेठ, काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दीपक भट्टसँग जोडिएका ५६ जना व्यवसायीको सेयर रोक्का गर्न नेपाल धितोपत्र बोर्डलाई पत्र पठाएको छ । सीआईबीले उनीहरूकाे लगानीको विवरण पठाउन र रोक्का राख्न बोर्डलाई निर्देशन दिएको हो ।
सीईआईबीले पठाएको पत्रअनुसार धितोपत्र बजारमा भएको लगानीसम्बन्धी विवरण आवश्यक परेको विवरण पठाउन र रोक्कासमेत राख्न अनुरोध गरेको छ । ब्युरोको पत्रमा भनिएको छ, ‘नेपाल धितोपत्र बोर्डको पत्र जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी दीपक भट्टसमेत भएको धितोपत्रसम्बन्धी ऐन २०६३ अन्तगर्तको कसुरमा अनुसन्धानको सिलसिलामा निम्नलिखित नाम, थर, वतन भएका प्रतिवादीहरूको नाममा धितोपत्र बजारमा भएको लगानीसम्बन्धी विवरण आवश्यक परेकाले उल्लेखित विवरण यस ब्युरोको इमेल ठेगानामा खुलाई पठाई रोक्कासमेत राखी अनुसन्धान कार्यमा सहयोग गरिदिनु हुन अनुरोध छ ।’
ब्युरोले विवरण मागेकाहरूमा अधिकांश हिमालय रिइन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी लाइभ इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलगायत रहेका छन् ।
हिमालयन रि–इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, सञ्चालकहरू अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाष कुमार झुनझुनवाला र लगानी समिति सदस्य मनिष कुमार छन् ।
नेपाल माईक्रो इन्स्योरेन्सका सञ्चालक सदस्यहरू सिद्धान्त झुनझुनवाला, लतिका गोल्याण, बद्री सिग्देल, प्रविना दाहाल र सुजल मल्ल पनि यसको सूचीमा छन् ।
गार्डियन माईक्रो लाईफ ईन्स्योरेन्सका सञ्चालकहरू डा. जयप्रकाश जैसवाल, उदयनारायण भट्टराई, प्रमोद प्रसाद भट्टराई, ज्योती अग्रवाल, नवराज मुडभरी, सीईओ चिरायु भण्डारी तथा लगानी समिति सदस्यहरू ज्योती प्रकाश पाण्डे र समीर खरेल रहेका छन् ।
त्यसैगरी, क्रेस्ट माइक्रो इन्स्योरेन्सका सञ्चालक समिति सदस्य मृदुला सरिया, पवित्रलाल चुके, विनोदनरसिंह श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ, सुनिता महर्जन, लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सका सञ्चालक समिति सदस्यहरू बलराम खत्री, नेहा अग्रवाल, आशिष सिंह, प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव, लगानी समिति सदस्य तथा वित्त विभाग प्रमुख देवेन्द्र धिताल रहेका छन् ।



प्रकाशित मिति : May 28, 2026 at 12:13 pm









