संवैधानिक आयोगका पदाधिकारीहरुको सुनुवाई सुरु, काँग्रेसद्धारा बैठक बहिस्कार
७ फागुन, काठमाडौँ । संसदीय सुनुवाई विशेष समितिले विभिन्न संवैधानिक आयोगका पदाधिकारीहरुको सुनुवाई थालेको छ । संसदीय सुनुवाई बिशेष समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्षमा प्रस्तावित बालानन्द पौडेलको सुनुवाई भैरहेको छ । यसपछि राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा प्रस्तावित शान्तराज सुवेदीको सुनुवाई हुने कार्यक्रम छ ।

गत ६ माघमा बसेको संवैधानिक परिषद बैठकले नेपालको संविधान २०७२ अनुसार गठन हुने विभिन्न आयोगहरु मध्ये ५ वटा संबैधानिक आयोगको प्रमुखमा नियुक्तिको सिफारिस गर्दै संसदीय सुनुवाइको लागि समितिमा पठाएको थियो ।
बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा सुवेदी, मधेशी आयोगको अध्यक्षमा डाक्टर विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरेको थियो ।
जारी सुनुवाई समितिको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरु अनुपस्थित रहेका छन्। विपक्ष दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा बसेको संबैधानिक परिषद बैठकले गरेको निर्णयप्रति असहमति जनाउँदै काँग्रेसले त्यस यताका सुनुवाई समितिको बैठक बहिस्कार गर्दै आएको छ
प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलवार १४:५९












