अख्तियारले राजनारायण घुस प्रकरणमा अनुसन्धान थाल्याे, सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति गठन
७ फागुन, काठमाडौं । अख्तियार दुरुपयोेग अनुसन्धान आयोगले ७८ लाख घुस काण्डमा मुछिएका पूर्वआयुक्त राजनारायण पाठकमाथि छानविन गर्न सहसचिवको नेतृत्वमा ३ सदस्यीय छानविन टोली गठन गरेको छ ।
मंगलबार बसेको आयोगको बैठकले सहसचिवको नेतृत्वमा छानविन समिति गठन गरेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । उनका अनुसार अनुसन्धान टाेलीले आजैबाट काम सुरु गरेकाे छ ।

दंगालले अनुसन्धान गर्ने टोलीको नाम भने गोप्य राखिएको बताए । पूर्वआयुक्त पाठकले भक्तपुरको नेपाल इन्जिनियरिङ क्याम्पसको विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको सार्वजनिक भएपछि राजीनामा दिएका थिए । पाठकमाथि सत्तारुढ दल नेकपाले महाभियोग लगाउने तयारीसँगै उनले गत फागुन ३ गते राष्ट्रपति समक्ष राजीनामा दिएका थिए ।
इन्जिनियरिङ कलेजको स्वामित्व विवाद सल्टाइदिने भन्दै कलेज सञ्चालक समितिका एक समूहसँग ७८ लाख रुपैयाँ घूस लिएको समाचार सार्वजनिक भएपछि उनी नैतिक दवावमा परेका थिए । २०७४ भदौमा पाठकले अध्यक्ष सो समूहसँग दुई पटक गरी सो रकम लिएका थिए । अख्तियार स्राेतका अनुसार पाठकलाई घुस खुवाउने कलेजका लम्बाेदर न्याैपाने र सूर्यबहादुर केसीका बारेमा समेत छानविन हुने बताइएकाे छ ।
प्रकाशित मिति : 12:49







