५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

विज्ञापनबाट नझुक्किनुस्, करेन्ट चाउचाउ खानु स्वास्थ्यका लागि हानिकारक

५ जेठ, काठमाडौं ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेका चर्चित ब्रान्डका चाउचाउ र बिस्कुटहरू स्वास्थ्यका लागि अहितकर र गुणस्तरहीन फेला पारेपछि ती उत्पादनहरू बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएपछि कम्पनीले मिडियाहरूमा विज्ञापनको ज्याकेट लगाइदिएको छ । कारबाहीमा परेको कुरा लुकाउन र अखाद्य सामग्री बेच्नका लागि कम्पनीले मिडियाहरूमा विज्ञापनको ज्याकेट प्रयोग गरेको हो ।

विभागले बजार अनुगमनका क्रममा संकलन गरेका नमुनाहरू प्रयोगशालामा परीक्षण गर्दा ती खाद्य पदार्थमा ‘एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु’ सरकारले तोकेको अनिवार्य मापदण्डभन्दा बढी भेट्टाएको थियो । विभागका अनुसार यशोदा फुड्स प्रा.लि (तिलोत्तमा, रुपन्देही) द्वारा उत्पादित १०० ग्रामको ‘करेन्ट’ चाउचाउको ब्याच नम्बर ०४ ए भएको मापदण्ड विपरीत पाएको छ । यस्तै सोही उद्योगबाट उत्पादन भएको ५० ग्रामको ‘लाली’ चाउचाउको ब्याच नम्बर ०२ ए पनि गुणस्तरहीन भेटिएको छ ।

त्यस्तै एशियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालि (दुहबी, सुनसरी) द्वारा उत्पादित ७५ ग्रामको ‘ज्याक न्याक क्राकर्स’ बिस्कुटको ब्याच नम्बर ६ मा पनि तोकिएको मापदण्ड पुरा नभएको विभागले जनाएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) बमोजिम विभागले ती उत्पादक कम्पनीहरूलाई सम्बन्धित ब्याचका सबै उत्पादनहरू बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ ।

साथै, सोही ऐनको उपदफा (४) बमोजिम ती सामग्रीहरूको बिक्री वितरण रोक्का गर्न र अर्को सूचना नभएसम्म बिक्री नगर्न र नगराउन समेत महानिर्देशकको निर्देशन बमोजिम आदेश जारी गरिएको छ। सरकारी निकायको आदेश छायाँमा पार्न कम्पनीले विज्ञापनको ज्याकेट बाँडेर उपभोक्ता झुक्याउन खोजेको छ ।

अत्यधिक नुन र मसाला – मुटु र पेटका लागि खतरनाक मानिन्छ । ‘करेन्ट’ जस्ता नुडल्समा अत्यधिक सोडियम (नुन) प्रयोग हुन्छ, जसले उच्च रक्तचाप (BP), मुटु रोग र मृगौला समस्याको जोखिम बढाउँछ। साथै, अत्यधिक मसालेदार झोलले पेट पोल्ने, ग्यास्ट्रिक र अल्सरको समस्या समेत निम्त्याउने गरेको छ । स्वाद बढाउन नुडल्समा हालिने मोनोसोडियम ग्लुटामेट (MSG) र अन्य कृत्रिम रसायन दीर्घकालीन रूपमा शरीरमा असर पार्छन्।

प्रकाशित मिति : 11:05