१५ पुष २०८२, मंगलवार | Tue Dec 30 2025

कांग्रेसमा दुईतिहाईको सरकार मैले भनेको जसरी चल्नुपर्छ भन्ने तुष देखियोः प्रवक्ता श्रेष्ठ

६ फागुन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले कांग्रेसमा दुईतिहाईको सरकार मैले भनेको जसरी चल्नुपर्छ भन्ने तुष देखिएको बताउनुभएको छ । सोमबार नेकपाको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस ‘सरकारले जे गर्दा पनि विरोध गर्ने निरपेक्ष विरोधवादको शिकार भएको’ बताउनुभयो । जनताले दुईतिहाई भन्दाबढी जनादेश दिएको सरकारले गरेका काम कारवाहीको आलोचनात्मक दृष्टिकोण राख्ने भन्दा पनि विरोध गर्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जसरी पनि विरोध गर्ने, जेमा पनि विरोध गर्ने प्रवृत्तिबाट काङ्ग्रेसमुक्त हुनुपर्छ ।”

नेपाली काङ्ग्रेसले आफूलाई भन्दै आएको लोकतन्त्रवादी चरित्र निर्वावाह गर्न नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जनताले दुईतिहाई मत दिएको सरकार छ, तर सरकार चाही मैले भनेको जस्तो गरेर चल्नुपर्छ भने काङ्ग्रेसमा सबैभन्दा ठूलो तुष छ ।” विधेयक तथा समान्य प्रस्ताव पारित गर्दासमेत विरोध गर्ने, पारित गर्न पाइदैन भनेर अवरोध गर्ने अलोकतान्त्रिक चरित्र काङ्ग्रेसले देखाएको प्रवक्ता श्रेष्ठको गुनासो थियो ।

काङ्ग्रेस लोकतान्त्रको मूल्यमान्यताविरुद्ध गएको भन्दै उहाँले भन्नुभयो, “जनादेशअनुसार सरकार चल्नुपर्छ, काँग्रेस वाचडग हुने र जनतामा जाने हो तर विधान र विधिसम्मत् लोकतान्त्रिक तरिकाले जानुपर्नेमा काङ्ग्रेस गएन ।” सुशासन कायम गर्दै र समृद्ध नेपाल बनाउने साझा अभियान हामी सबैको भए पनि राष्ट्र निर्माणको यो अभियान पूरा गर्न उक्त दलले सहयोग गर्नुपर्नेमा जे गरे पनि विरोध गर्ने निरपेक्ष विरोधवादको सिद्धान्तबाट काङ्ग्रेसमुक्त हुनुपर्ने प्रवक्ता श्रेष्ठको टिप्पणी थियो ।

सरकारको काम कारवाहीलाई पार्टीले अझ प्रभावकारी र परिणामुखी बनाउन थप छलफल गर्ने जानकारी दिँदै उहाँले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र योजनालाई कार्यान्वयन गर्न लागिपर्ने बताउनुभयो । सरकारका नीति तथा कार्यक्रम सकारात्मक रहेको भन्दै ती विषयलाई आत्मसात् गर्नु आजको आवश्यकता भएको र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्नु आजको प्रमुख कार्यभार रहेको प्रवक्ता श्रेष्ठको भनाइ थियो । रासस

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार १९:५१