७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

स्ववियु निर्वाचनका लागि समिति गठन, तत्काल कार्यतालिका सार्वजनिक गर्न अनेरास्ववियुको माग

६ फागुन, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गराउन केन्द्रीय निर्वाचन समन्वय एवम् निरीक्षण समितिको घोषणा गरेको छ । सोमबार विद्यार्थीहरूको दबाबकैबीच त्रिविले समितिको घोषणा गरेको हो ।

अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले सोमबार त्रिवि उपकुलपतिको कार्यालय घेराउ गरेर निर्वाचन तालिका सार्वजनिक गर्न माग गरेको थियो । अनेरास्ववियुकै प्रदर्शन चलिरहेको समयमा त्रिविले समिति बनाएको जानकारी दिएको हो ।

त्रिविले शिक्षाध्यक्ष प्रा. डा. सुधा त्रिपाठीको संयोजकत्वमा ७ सदस्यीय समितिको घोषणा गरेको छ । जसमा सह संयोजक रजिस्ट्रार डिल्लीराम उप्रेती, सदस्यमा विष्णुप्रसाद खनाल, नरेन्द्रप्रसाद शिवाकोटी, विष्णु केसी, नारायणप्रसाद खनाल रहेका छन भने सदस्य सचिवमा गंगावहादुर थापामगर रहेका छन ।

त्रिविको क्यालेण्डर अनुसार फागुन १४ गतेभित्र स्ववियु निर्वाचन गर्नुपर्ने व्यवस्था छ। अब स्ववियु निर्वाचन फागुन १४ मै नभए पनि केही साता पर भए पनि हुने अाशा पलाएको अखिलक क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले दैनिकीलाइ जानकारी दिए । उनले निर्वाचन समिति गठन भए पनि निर्वाचनको मिति घोषणा नहुँदासम्म खबरदारी जारी राख्ने बताएका छन ।

बरिष्ठ उपाध्यक्ष बस्नेतले समितिले तत्काल वैठक वसेर कार्यतालिका सार्वजनिक नगर्दासम्म दवाव, जागरण र खबरदारी जारी रहने र भोलि कार्यक्रम समेत यथावत रहने बताएका छन । यसअघि नेपाली कांग्रेस र नेविसंघको दबाबका कारण त्रिविले निर्वाचन समिति गठन गर्ननै अटेर गर्दै अाएको थियो ।

निर्वाचनका लागि दबाब दिँदै अनेरास्ववियुका नेता कार्यकर्ता

प्रकाशित मिति : 18:00