१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

ओमानले नेपाललाई दियो ३०६ रनको बलियो लक्ष्य

१६ वैशाख, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा ओमानले नेपाललाई जितको लागि ३०६ रनको बलियो लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको योगफल बनाएको हो । ओमानको इनिङ्सका नायक कप्तान जातिन्दर सिंह बने । उनले आक्रामक शैलीमा ९६ बलमा १५ चौका र ५ छक्का प्रहार गर्दै १३० रनको शानदार शतक पूरा गरे । उनले टोलीलाई मजबुत अवस्थामा पुर्‍याउँदै ठूलो स्कोरको आधार तयार पारे ।

उनीसँगै मध्यमक्रममा जितेन रमणन्दीले ४३ रन बनाए भने आर्यन बिष्ट ले ३५ रन जोडे । त्यस्तै हमाद मिर्जाले ३० रन जोड्दा आशिष ओडेदाराले २३ रन बनाए । अन्तिम ओभरहरूमा विनायक शुक्ला २३ रन थपे भने वसिम अली १२ रनमा अविजित रहे ।

नेपालका बलरहरूले सुरुवातमा दबाब बनाउन खोजे पनि बीचका ओभरहरूमा ओमानका ब्याट्सम्यान हाबी भए । बलिङतर्फ नेपालका सोमपाल कामीले ९ ओभरमा ५९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरिले समान २/२ विकेट हात पारे । ३०६ रनको लक्ष्य पछाएको नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

नेपाल, युएई र ओमानबीचको एकदिवसिय श्रृखलाअन्तर्गत नेपालको यो आज दोस्रो खेल हो । यसअघि भएको पहिलो खेलमा नेपालले युएईलाई हराएको थियो ।

प्रकाशित मिति : 14:15