१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

रसुवामा निरन्तर भारी वर्षा र हिमपात

४ फागुन, रसुवा ।  रसुवाकाे हिमाली भेकमा गएरातिदेखि परेको वर्षासँगै उत्तरी क्षेत्रमा पुनः हिमपात भएको छ । तीन हजार उचाइसम्म हिमपात भएकाले ग्रामीण जनजीवनमा चिसोले प्रभावित भएको छ ।

गत पुस ८ गतेदेखि फाटफुट्टरूपमा भइरहेको वर्षाले जमीनको चिसो यथेष्ट बढ्न जाँदा हिउँदेबाली भने उत्पादनमा सन्तुलन आउने स्थानीय कृषकले बताएका छन् । स्थानीय ज्येष्ठ नागरिक एवं समाजसेवी सोनामसाङ्मो तामाङले भने छ वर्षको दौरानमा यस वर्ष धुञ्चेभन्दा तलसम्म नै हिमपातले जमीन छोपेका कारण हिउँदेबालीका लागि वैशाखको पहिलो र दोस्रो सातासम्म चिसोपन बस्ने आँकलन गरिएको बताउनुभयो ।

गत पुसमा एक हजार ६०० मिटरको भू–भागसम्म हिमपात भए पनि पछिल्लो समय हिमरेखा माथि सर्दै जाँदा यही फागुन १५ गतेदेखि चिसोपन क्रमशः हट्दै जाने अनुभव रहेको स्थानीयवासीले बताए ।

हिमपातबाट हुने चिसोको असर न्यूनीकरण गर्न गाउँका विपन्न व्यक्तिलाई जिल्ला विपद् व्यवस्थापन समितिद्वारा न्यानो कपडा कम्बल वितरणले ग्रामीण समुदायमा निकै राहत मिलेको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताउनुभयो । विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार हिमपात शुरू भएलगत्तै स्थानीय तहले विपन्न हो भनी उपलब्ध गराएको सूचीका आधारबाट पुस महीनामा १८० थान न्यानो कपडा कम्बल वितरण गरिएको हो ।

ग्रामीण बस्तीमा परेको हिमपातले बालक तथा जेष्ठ नागरिकलाई बढी प्रभावित तुल्याएको थियो । युवा भने हिउँमा खेलेर रमाएका थिए । हिमपात निरन्तर भएकाले समुन्द्री सहतदेखि १४ हजार १००, फिट अर्थात् चार हजार ३८० मिटर उचाइमा अवस्थित धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्ड निरन्तर जाने तीर्थयात्रु र पर्यटक प्रभावित भएका छन् ।

गत पुस महीनाको तेस्रो सातादेखि चन्दनबारी माथिका धार्मिक मार्ग परै हिमपातले छोपेका कारण गोसाइँकुण्ड मार्ग आवतजावत बन्द भएको चन्दनबारीका होटल व्यवसायीले बताएका छन् । चरण क्षेत्र हिमपातले ढाकेका कारण उच्च हिमाली भेकका चाँैरीगाई बेंशीतर्फको तातोठाउँ धुञ्चे पुछार, त्रिशूली नदीको आसपास, डाँडागाउँतर्फका क्षेत्रमा सारिएको र चैत महीनादेखि उच्च भागको यथास्थानमा क्रमशः सार्दै लगिने चौँरीपालक कृषक सोनाम नुर्पु घलेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : February 16, 2019 at 8:18 pm