अपहरणको नाटक गरेर अभिभावकसँग ‘फिरौती’ माग्ने तीन युवक पक्राउ
३ फागुन, धनुषा । साथीसँग मिलेर अपहरणको नाटक गरेर आफ्नै अभिभावकसँग पैसा ठग्न खोज्ने अजयकुमार साहलाई प्रहरीले पक्राउ गरेकाे छ । जनकपुरधाम उपमहानगरपालिका–१७ ,बेलौनी बस्ने २२ वर्षीय साहले अपहरणको झुटो नाटक गरेर अभिभावकसँग ५ लाख रुपैयाँ ठग्ने प्रयास गरेपछि प्रहरीको फन्दामा परेका हुन् ।
पक्राउ पर्नेहरुमा अपहरणको नाटकमा सलंग्न जनकपुरधाम उपमहानगरपालिका–२३ का समसाद नदाफ र रौतहट गढीमाई नगरपालिका वडा नम्बर–८ का अरविन्द यादव रहेको धनुषाका प्रहरी उपरीक्षक शेखर कोइरालाले बताएका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाे हाे ।
साथीको जन्मदिनको पार्टीमा गएका अजयको अपहरण भएको कुरा अरविन्दले उनको अविभावकलाई सुनाएका थिए । उनले अजयलाई मुक्त गर्न उनका अभिभावकलाई १५ लाख रुपैयाँको व्यवस्था गर्न भन्दै फोन गरेपछि प्रहरीमा उजुरी दिएका थिए ।
प्रहरी उपरीक्षक कोइरालाका अनुसार पछि ५ लाख रुपैयाँ फिरौती दिने सहमति भएको र जनकपुरधाम पैसा लिन आएपछि उनलाई पक्राउ गरी सोधखोज गर्दा अपहरणको घटनाको मुख्य योजनाकार उनकै छोरा अजय रहेको खुलेको थियो ।
प्रकाशित मिति : 17:53









