१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

९ लाख नगदसहित २३ जुवाडे पक्राउ

३ फागुन, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टोलीले बिहीबार राति जुवा खेलिरहेको अवस्थामा रकमसहित जुवाडे पक्राउ गरेको छ । प्रहरीले ९ लाख ३२ हजार ८१३ नगदसहित २३ जुवाडेलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक चिनीमाया तामाङको कमाण्डमा गएको प्रहरी टोलीले भरतपुर महानगरपालिका–११ भोजाडस्थित छिन्केश्वरी टोलबाट उनीहरुलाई पक्राउ गरेको हो । छिन्केश्वरी टोलका एक व्यक्तिको घरको दोस्रो तलामा कौडा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा राति साढे ११ बजे छापा मारेर उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरु चितवन, तनहुँ र गेरखाका रहेका छन् । उनीहरु पेशेवर रूपमा कौडा खेल्ने गरेको अनुसन्धानबाट खुलेको राठौरले बताउनुभयो । विहीबार दिउँसो गोरखासमेत पुगेर जुवा खेलेका उनीहरु प्रणय दिवस (भ्यालेनटाइन डे)को अवसर भन्दै भरतपुरमा आएर कौडा खेलेको राठौरले बताउनुभयो ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको र सबैलाई जुवा ऐनअन्तर्गत कारवाही गरिने राठौरले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय चितवनले गएको दशैँ/तिहारको समयमा मात्रै १२० जुवाडेलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।

प्रकाशित मिति : February 15, 2019 at 10:25 am