१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

गाई पाल्न थालेपछि खाली छैन हातमा दाम

२ फागुन, बेझाड ।  सात वर्ष अगाडि निकै कष्टसँग जीवन गुजारा चलाउन बाध्य रामपुर नगरपालिका–६ बस्ने विष्णुदेवी गैरेलाई अहिले गाईपालन व्यवसाय अर्थोपार्जनको माध्यम बनेको छ । आफ्नोे परिवारमा कमाउने कोही व्यक्ति थिएन, व्यवसाय गर्न आफन्त, साथीभाइकहाँ ऋण सापटी माग्न पुग्दा सबै टाढिए ।

कसैको सहयोग र साथ नपाएपछि लालपुर्जा बैंकमा धितो राखेर सात वर्ष अघि नवलपरासीबाट रु ८० हजारमा होलस्टिन र जर्सी जातका गाई खरीद गरेर व्यवसाय शुरु गरेकामा गोठमा गाई बाध्न थालेको दिनदेखि आम्दानी गर्ने गतिलो माध्यम बनेको उहाँले जानकारी दिनुभयो ।

दूध बिक्रीबाट राम्रो आम्दानी हुँदै गएपछि व्यवस्थित गोठ निर्माण र गाईको सङ्ख्या पनि थप गर्दै जाँदा अहिले उहाँको फार्ममा छ वटा माउ गाई र छ वटा कोरली बाँच्छी छन् । “चार गाई ब्याउने छन् अहिले दुई दुहुना गाईबाट ३० देखि ३५ लिटरसम्म दूध उत्पादन भइरहेको छ”, गैरेले भन्नुभयो । दूध बिक्रीबाट खर्च कटाएर मासिक रु ३५ हजार बराबर उहाँ आम्दानी गर्नुहुन्छ ।

दूध बिक्रीका लागि बजार सहज भएकाले पनि व्यवसायमा हौसला झन बढ्दै गएको उहाँ गैरेले बताउनुभयो । प्रतिलिटर रु ५५ मा दूध बिक्री भइरहेको छ । “पहिला निकै दुःख थियो आयस्रोत नहँुदा गाईपालन व्यवसाय चलाएपछि अहिले दिनहुँ हातमा दाम परिरहेको छ”, उहाँले भन्नुभयो । गैरे जिल्लामै नमूना गाईफार्म सञ्चालन गर्ने एक अगुवा महिला कृषक हुनुहुन्छ ।

रु सात लाख खर्चिएर व्यवसाय शुरु गर्नुभकामा यसलाई विस्तार गर्दै जाँदा अहिलेसम्म रु १५ लाख जति लगानी गरिसक्नुभएका गैरले दुई चार पैसा आवश्यक परेका बेला समाजमा ऋण माग्दा पैसा सापटी नदिनेका अगाडि अहिले अरूलाई ऋण दिनसक्ने हुनाका साथै पाँच जनाको परिवार अहिले सुखसँग पाल्न, घर व्यवहार चलाउन र दुई छोरालाई उच्च शिक्षा पढाउन सजिलो भएको बताउनुभयो । गोठको क्षेत्रफल बढाएर ५०÷६० वटा सम्म गाई पाल्ने लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो । मेहनत गरियो भने अवस्य पनि सफलता मिल्दो रहेछ भन्ने अनुभव म आफैँले लिएकी छु उहाँले भन्नुभयो ।

प्रकाशित मिति : February 14, 2019 at 10:31 am