१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

विदुर नगरपालिकाको ६ करोड ७१ लाख पूरक बजेट विनियोजन 

१ फागुन, नुवाकाेट । नुवाकोटको विदुर नगरपालिकाको चौथो नगरसभाले गाउँपालिकाभित्र अति आवश्यक देखिएका योजना सञ्चालनका लागि रु छ करोड ७१ लाख बराबरको पूरक बजेट विनियोजन गरेको छ ।

मङ्गलबार बसेको नगरसभाले थप पूरक बजेट नगरसभामा छलफल तथा केही संशोधनसहित सर्वसम्मत रुपमा स्वीकृत गरेको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार विनियोजित बजेटमा सडक विस्तार तथा स्तरोन्नति, खानेपानी एवं डिपबोरिङ योजना सञ्चालन, विभिन्न सात वडा कार्यालयको भवन निर्माण, लक्षित क्षेत्रका लागि थप रकम तर्जुमा, एम्बुलेन्स खरीदलगायतलाई प्राथमिकता दिइएको छ ।

नगरसभाले नगर प्रहरी सञ्चालन कार्यविधि २०७५, अपाङ्गता भएका व्यक्तिको परिचयपत्रसम्बन्धी कार्यविधि २०७५, बालगृह सञ्चालन कार्यविधि २०७५, बालविवाहविरुद्ध कार्यक्रम सञ्चालन खर्च कार्यविधि २०७५ र सडक बालबालिका व्यवस्थापन खर्च कार्यविधि २०७५ पारित गरेको उपप्रमुख गीता दाहालले जानकारी दिनुभयो । थप पाँच कानूनमाथि छलफल भए पनि केही सुुधार गर्नुपर्ने भएकाले संशोधनका लागि कार्यपालिका पठाउने निर्णय सभाले गरेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार १७:२३