इपिसेन्टरमा केपी शर्मा ओली र बालेन
-टिका निधि लोहनी
भनिन्छ, फागुन २१ गतेको आम निर्वाचनमा १६३ निर्वाचन क्षेत्रले सांसद छान्दै छन्, मनाङले छानिसक्यो र झापा ५ ले प्रधानमन्त्री छान्दै छ । त्यसो त प्रधानमन्त्री छान्ने कुरा एउटा निर्वाचन क्षेत्रको बुतामा छैन । पछिल्लो छ महिनामा देशमा भइरहेको गतिविधिको जनमत सङ्ग्रह चाहिँ झापा ५ मा नै भइरहेको छ । बालेन र केपी ओलीको आमेन सामने रोचक भिडन्तका रूपमा ।
२०४८ सालको चुनावमा काठमाडाैँको क्षेत्र नं. १ मा बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र एमालेका तत्कालीन उदयमान महासचिव मदन भण्डारी चुनाव लडेका थिए । तत्कालीन २०५ वटा निर्वाचन क्षेत्रमा यो क्षेत्र बहुत चर्चित भयो । अझ बहालवाला प्रधानमन्त्रीलाई चुनाव हराएको कारण निर्वाचन परिणाम आइसकेपछि त्यो क्षेत्रको निर्वाचन चिरकालसम्म चर्चित भइरह्यो । त्यो कुरा त्यो जमानाको भयो । अहिले झापा ५ उत्तिकै इपिसेन्टर वनेको छ । आज झापा ५ जति चर्चामा छ, कम्तिमा अबको एक दशक सो क्षेत्रको निर्वाचन परिणामको व्यापक चर्चा भइरहने छ । निर्वाचन परिणाम जे सुकै आए पनि भदौ २३ र २४ गतेको आन्दोलनलाई झापा क्षेत्र नं. ५ को परिणामले पुनर्व्याख्या गर्ने छ ।
कदाचित्, ओलीले चुनाव जितेमा भदौ २३ र २४ गतेको घटना पछि उनको दोस्रो अनुमोदन हुनेछ । मङ्सिरको अन्तिम साता काठमाडाैँमा भएको नेकपा एमालेको महाधिवेशनबाट ओलीले आफ्नो पार्टीको प्रणाली भित्र आफूलाई अनुमोदन गराइसकेका छन् । आफ्नो निर्वाचन क्षेत्रका जनताको माझमा आफूलाई अनुमोदन गराउन सके ओलीको वोलीमा थप तागत आउने नै छ । तर, उनको नेतृत्वको पार्टीले २०७९ सालको निर्वाचनको साख कति प्रतिशत जोगाउन सक्नेछ भन्ने कुरामा उनको बाँकी हिसाबकिताब हुनेछ । पार्टी भित्रको अनुमोदन, आफ्नो निर्वाचन क्षेत्रबाट अनुमोदनका अलावा एमालेलाई नै देशभरबाट तुलनात्मक रूपमा राम्रोसँग प्रतिरक्षा गर्न नसके ओलीलाई अफ्ठ्यारो पर्ने छ । र, यो अप्ठ्यारो सन्निकट नै छ । ओली र एमाले दुबैको वा कुनै एकको नै पनि कमजोर प्रदर्शन रह्यो भने काँग्रेसको विशेष महाधिवेशन देखेर हौसिएका एमाले भित्रका केपी विरोधीहरूले पार्टी भित्रको ध्रुवीकरण चर्को पार्नेछन् ।
बालेनको अनुमोदन भएमा यो नेपालको राजनीतिमा नयाँ उद्घोष हुनेछ । भदौ २३ र २४ गतेको आन्दोलनको जेन्जी अंश अब लगभग सकिइ नै सकेको छ । २३ गते गोली लागेका, मृत्यु भएका र २४ गते विभिन्न प्रकरणमा मरेका र मारिएकाहरूको पाप नेपाली राज्यलाई लागिरहने छ । सहज प्रदर्शनमा भएको असहज व्यवहारहरूको महँगो मूल्य यो समाजले लामो समयसम्म पनि भर्पाई गर्न सक्नेछैन । बालेनलाई त्यो आन्दोलनसँग कुनै लेनदेन थिएन । उनी त अपुताली सम्हाल्न आइपुगे । राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि उनलाई कुनै मतलब थिएन । जेन्जीको आन्दोलनका माग र रास्वपाका कुरासँग उनलाई चासो हुने कुरै भएन । तर, अहिले तत्काल देखिएको घण्टी छापको ख्यातिको सबैभन्दा ठूलो लाभग्राही बालेन नै देखिएका छन् । उनलाई उल्फाको धन मिलेको छ । झापा ५ मा चुनाव जितेमा एक कालखण्डमा उनी दवंग नेता बन्नेछन् । तर त्यसको स्थायित्व अहिले अनुमान गर्न धेरै नै हतारो हुनेछ ।
बालेनलाई इपिसेन्टरका जनताले मूल्याङ्कन गर्ने आधार उनको काठमाडाैँको साँढे तीन वर्षको मेयरको इतिहास र रास्वपाको अहिलेको फूर्तिफार्ति हो । काठमाडाैँको मेयरका रूपमा कार्यसम्पादन जे जसो भए पनि उनको तारिफ गर्ने समुदाय ठूलो छ । पुराना राजनीतिक दलहरूप्रतिको वितृष्णा घण्टी छापमा भोटका रूपमा प्रकट हुने माहौल यो पटक देखिएकै छ । लहर आउँदाको फाइदा चुनावमा सबै पार्टीहरूले फरक फरक समयमा लिएकै हुन् । २०४८ को काँग्रेसको लहर, २०५४ को स्थानीय चुनावमा एमालेको लहर, २०६४ मा माओवादी र मधेसवादी दलको लहर, २०७४ मा एमाले र माओवादीको गठबन्धनको लहर । त्यो हिसाबले यो पटकको दुलाहा राष्ट्रिय स्वतन्त्र पार्टी हो । बालेनले ओलीसँग उम्मेदवारी दिँदा नै जितिसके । अब चुनाव हार्दा पनि उनको गुम्ने केही छैन । चुनाव जितेर पनि उनले पार्टी, संसदीय दल वा बनेछन् भने प्रधानमन्त्री, टिम र विरोधीलाई मिलाएर चलाउलान् भन्ने कम्तिमा उनको मेयर सीपबाट चाहिँ देखिदैन् ।

झापा ५ मा जुन भूगोल अहिले कुरुक्षेत्र बनिरहेको छ, २०४८ साल यता यो क्षेत्रमा ८ पटक संसदीय निर्वाचन भइसकेको छ । यो निर्वाचन नवौँ हो । २०४८, २०५१, २०५६ (मुख्य निर्वाचन) र २०५६ (उपनिर्वाचन) मा यो कुरुक्षेत्र झापाको क्षेत्र नं. ६ मा पर्दथ्यो । पहिला तीन वटा निर्वाचनमा ओलीले सानदार रूपमा नेपाली काँग्रेसका पूर्णानन्द शर्मा, केशव कुमार बुढाथोकी र काशीलाल ताजपुरियालाई चुनाव हराएका थिए ।
२०५६ जेठमा भएको संसदीय निर्वाचनमा केपी शर्मा ओली झापा २ र झापा ६ बाट एकैसाथ चुनाव लडेका थिए । एमाले फुटाएर बामदेव र सीपी मैनालीले माले बनाए पछिको त्यो निर्वाचन एमाले र मालेको घमासान थियो । झापा २ मा केपी ओली र सीपी मैनाली भिडेका थिए । झापा ६ मा केपी ओली र देवी ओझा बिचको प्रतिस्पर्धा थियो । ओलीले दुबै निर्वाचन क्षेत्रमा जितेपछि झापा ६ मा पुनः निर्वाचन भयो । त्यो निर्वाचनमा पहिलो पटक र हालसम्म अन्तिम पटक त्यो क्षेत्रबाट काँग्रेसले चुनाव जित्यो । डा. गोपाल कोइराला सांसद भए ।
२०६४ सालको संविधानसभाको निर्वाचनमा झापाको अहिले क्षेत्र नं. ५ भनिएको ठाउँ क्षेत्र नं. ६ र ७ मा बाँडियो । दमक लगायतको क्षेत्र रहेको क्षेत्र नं. ७ मा उठेका केपी शर्माले चुनाव हारे । माओवादीको व्यापक जनलहरको समय थियो त्यो । लखनपुर, गौरिगंज, गौरादह लगायतको क्षेत्र रहेको क्षेत्र नं. ६ मा एमाले कै दीपक कार्कीले चुनाव जिते । २०७० को अर्को संविधान सभाको निर्वाचनमा क्षेत्र नं ७ मा केपी ओलीले जिते भने क्षेत्र नं. ६ मा दीपक कार्की नै दोहोरिए । २०७४ सालको निर्वाचन यता झापामा ५ वटा निर्वाचन क्षेत्र कायम छन् । पहिलाको क्षेत्र नं. ६ र ७ अहिले क्षेत्र नं. ५ भएको छ । यो क्षेत्रमा २०७४ र २०७९ का निर्वाचनहरूमा केपी ओलीले सानदार रूपमा निर्वाचन जितेका छन् ।
२०६४ सालमा पहिलो पटक निर्वाचन हारिसकेपछि केपी ओलीले निर्वाचन क्षेत्रलाई माया गर्ने सम्बन्धमा सबक सिकेको देखिन्छ । पहिला पहिला निर्वाचन क्षेत्रमा विकासका परियोजना लैजाने कुरामा केपी ओलीको उति सारो बल हुँदैन थियो । त्यसो त २०७० सालसम्म ओली आजको तुलनामा निकै कमजोर थिए । २०७० सालमा संसदीय दलको नेता, २०७१ सालमा एमालेको अध्यक्ष र २०७२ सालमा पहिलो पटक प्रधानमन्त्री भएपछि उनको शक्ति अकल्पनीय रूपमा बढेको हो । २०६४ सालपछि अहिलेको झापा क्षेत्र नं. ५ को भूगोलमा धेरै पूर्वाधारका परियोजना पुगे । सडक, पुल, विद्यालय, क्याम्पस, सिँचाइ, बजार विस्तार, भूक्षय नियन्त्रण, मन्दिर लगायतका विषयमा धेरै काम भए । ओलीका अलावा दीपक कार्की र एमालेको स्थानीय पार्टी पङ्क्ति पनि यो मामलामा निकै सक्रिय छ ।
मानिसलाई असन्तोष लाग्न पाउँछ । तर राष्ट्रका अरू अधिकांश निर्वाचन क्षेत्रको तुलनामा झापाको क्षेत्र नं. ५ मा पछिल्लो १५ वर्षमा निकै नै बढी बजेट परिचालन भएको थियो । अहिले झापामा ओलीको आलोचनामा स्थानीय विकासका एजेन्डा भन्दा बढी राष्ट्रिय राजनीतिका मुद्दाहरूको स्थानीयकरण भएको देखिन्छ । अनि ओलीले आफ्नो किल्ला बलियो बनाउन नियुक्त गरेका भाइ भारदारको रवाफसँग पनि समाजका अन्य पक्षहरू इखालु बनेका छन् ।
चाहिने भन्दा बढी निर्माण भएको जस्तो देखिने भ्यु टावर अहिले केपीको बिरोधको सिम्वोल देखिएको छ । देशभर धेरै ठाउँमा भ्यूटावर वनेकाछन् । दमकमा बनेको बहुउद्देश्यीय बहुतले भवन भौतिक पूर्वाधार निर्माणका हिसाबले त्यो क्षेत्रका मानिसले गर्व गर्नुपर्ने कुरा हुनुपर्ने थियो । तर, औचित्य पुष्टि गर्न नसक्दा अहिले त्यो टावर नै गलपासो जस्तो वनेको देखिन्छ । दमक, लखनपुरमा प्रस्ताव गरिएको औद्योगिक पार्कले जनता खुसी हुनुपर्ने थियो, त्यहाँ पनि जनतालाई सम्बोधन गर्न बाँकी देखियो । सामान्यतया भौतिक पूर्वाधार विकासको एजेन्डा बन्ने गरेको निर्वाचनमा अब एजेन्डा सिफ्टिङ भई अन्य विषयहरू पनि प्रवेश गरेको हो कि जस्तो देखिन्छ । अन्यथा, १५ वर्ष यता भएका विकासलाई हेर्ने हो भने झापा क्षेत्र नं. ५ का जनताले केपी ओलीको बिकल्प बालेनमा पाउदैन् ।
२०७२ सालको संविधान बने यता नेपालको राजनीतिमा केपी शर्मा ओली सबैभन्दा शक्तिशाली केन्द्रीय व्यक्तित्व बनेकाछन् । २०७४ र २०८१ सालमा झन्डै दुई तिहाइ बहुमतको शक्तिशाली सरकारको प्रधानमन्त्री बनेर पनि जनअपेक्षा अनुरूप काम गर्न नसकेको अपजस उनलाई छ । २०७२ सालको संविधान निर्माण, २०७४ को माओवादीसँगको एकता र २०७७ सालमा चुच्चे नक्सा पास गर्दा ताका केपी शर्मा ओलीको चरम चुलीमा पुगेको राष्ट्रिय व्यक्तित्व सम्पत्ति त थियो नै, यसले दायित्व पनि सृजना गरेको नै थियो । दुई पटक संसद् भङ्ग, फरक मतको नियोजन सहित पार्टीबाट निकाल्ने, धपाउने, किनारा लगाउने पारा अनि त्यसयताका अनेकानेक राष्ट्रिय घटनाक्रमले केपी शर्मा ओलीको साख एकपछि अर्को घटनामा कमजोर बनाउँदै लगेकै छ ।
स्वाभाविक रूपमा संसारमा सबै कुराको आयु हुन्छ । केपी ओलीको रजगजको आयु कति हो ? कसैसँग नझुक्ने, मोलाहिजा नगर्ने, सिधा सीधा भन्ने र अर्कोलाई नटेर्ने छुच्चो आदत बनाएका केपी ओलीसँग अहिले धेरै मानिस र शक्तिहरू नाराज छन् । व्यक्तिगत स्तुतिमा खुसी भएर आसेपासेले गर्ने आरतीमा रमाइरहँदा उनले धेरै मानिसलाई चिढ्याएका पनि छन् । त्यसमा उनको लत पनि बसेको छ । इतिहासमा नै उनी सबैभन्दा प्रतिरक्षात्मक भएको अवस्थामा इतिहासमै सबैभन्दा शक्तिशाली प्रतिस्पर्धीसँग भिडिरहेका छन् । राष्ट्रिय स्वाधीनता र समृद्धिको नाराले ओलीलाई बलियो बनाएको हो । यो पटक मादलको ताल बदलिएको छ । कलाकारहरू फरक गीत गाइरहेकाछन् । र, ओली र एमाले अझै मेसो नपाएर अलमलिइरहेका छन् । तर, मेसो मिलिसक्दा यो पार्टीको स्थानीय पङ्क्ति उदेकलाग्दो हिसाबले बलियो र प्रभावकारी छ ।
यो चुनावमा त्यो क्षेत्रमा उठेका अन्य कतिपय उम्मेद्वारहरू आफ्ना हिसाबले राम्रा भए पनि यो चुनावमा आफू जित्न भन्दा अर्कालाई हराउन, जिताउन, पार्टीको भोट बचाउन मात्र सीमित हुनेछन् । नेपाली समाज समालोचनात्मक चेत अलि कम राख्दछ । जसका पक्षमा लागे पनि हामी दिलै देखि लागिदिन्छौँ । अहिले अन्य शालीन उम्मेद्वारहरू छायामा छन् । चुनाव हेर्न रमाइलो छ । अरू क्षेत्रले सांसद छान्दा झापा ५ ले कम्तिमा पाँच वर्षको नेपाली राजनीतिको निर्णायक दिशा छान्नेछ ।
प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार ०६:००










