४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

६ महिनामा सरकारले दियो ५३ अर्ब कर छुट

४ फागुन, काठमाडाैं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा करिब ५३ अर्ब बराबर भन्सार महसुल छुट दिएको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले ४ खर्ब ८ अर्बका मालवस्तुको आयातमा ५२ अर्ब ८४ करोड ९६ लाख महसुल छुट दिएको हो ।

अर्थ मन्त्रालयकाअनुसार मूल्यअभिवृद्धि कर ऐन, २०५२ को दफा ५ को उपदफा ३ प्रयोग गरेर मूल्य अभिवृद्धि कर छुट हुने वस्तुहरुको पैठारी भएका २ खर्ब १६ अर्ब २ करोड २९ लाखबराबरका वस्तुहरुमा २९ अर्ब ७० करोड ३३ लाख करछुट दिइएको छ ।

भन्सार ऐन, २०६४ को दफा ९ लाई आधार मान्र्दै कुटनीतिक सुविधि अन्तर्गत पैठारी भएका ५९ करोड ७५ लाख बराबरका वस्तुहरुमा सरकारले ४८ करोड २९ लाख भन्सार महशुल छुट दिएको छ । भन्सार ऐनलाई नै प्रयोग गरेर महशुल सुविधाका नाममा ८ करोड ८ लाख बराबरका वस्तुहरुको पैठारीमा ४ करोड २१ लाख कर छुट दिएको छ ।

मुनाफा रहित सार्वजनिक तथा सामुदायिक संस्था, नेपाल सरकार र सरकारी स्वामित्व संस्थाहरुले गरको ३७ अर्ब ५४ करोड बराबरका मालवस्तुमा सरकारले ९ अर्ब ५० करोड कर छुट दिएको अर्थ मन्त्रालयले जनाएकाे छ । अर्थ मन्त्रालयका अनुसार सरकारसँग भएको आयोजना विकास सम्झौता बमोजिम परियोजना विकासका लागि आयोजना वा अयोजनाले नियुक्त गरेका ठेकेदारको नाममा पैठारी भएका ३९ अर्ब ९२ करोड ६ लाख बराबरका मालवस्तुमा सरकारले १४ अर्ब ९७ करोड ८ लाख करछुट दिएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

त्यस्तै साफ्टा सुविधा अन्तर्गत पैठारी भएका ४२ अर्ब ४० करोड ४४ लाख बराबरका मालवस्तुहरुमा सरकारले २७ अर्ब ६९ करोड बराबरको कर छुट दिएको छ । अर्थ मन्त्रालयकाअनुसार विविध छुट सुविधा शिर्षकमै १ खर्ब ४० अर्ब ७८ करोड ६९ लाख बराबरका वस्तुहरुमा सरकारले १७ अर्ब ४० करोड ३३ लाख बराबरको कर छुट दिइएको छ ।

सरकारले समीक्षा अवधीमा आन्तरिक राजश्वतर्फ भन्सार महशुलको तुलनामा त्यति धेरै कर छुट दिएको देखिँदैन । आन्तरिक राजश्व विभागतर्फ आर्थिक ऐन, २०८२ को व्यवस्थाअनुसार ३ हजार ४ सय ७७ करदाताहरूलाई ५५ करोड ५७ लाख ६० हजार बराबरको करछुट तथा सहुलियत प्रदान गरेको छ । सरकारले वार्षिक रुपमा खर्बभन्दा बढि कर छुट दिँदै आएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार १२:३१