३ फाल्गुन २०८२, आईतवार | Sun Feb 15 2026

घरजग्गा कारोबार बढ्यो, ७ महिनामा २६ अर्ब ९६ करोड राजस्व संकलन

३ फागुन, काठमाडाैं । पछिल्लो सात महिनामा घरजग्गा कारोबारबाट संकलित राजस्वमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२/८३ को साउनदेखि माघसम्म घरजग्गा राजस्व संकलन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा बढेको हाे।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा कुल २६ अर्ब ९६ करोड ४८ लाख ७८ हजार २९३ रुपैयाँ राजस्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने २४ अर्ब ७१ करोड १ करोड ६ लाख ५६५ रुपैयाँ संकलन भएको थियो। घरजग्गा कारोबारबाट भएको यस्तो राजस्व संकलन चालु आवको पहिलो ७ महिनामा २ अर्ब २५ करोड ४७ लाख रुपैयाँले बढेको छ । यो राजस्व बृद्धिदर गत वर्षको तुलनामा ९.१२ प्रतिशतले बढी हो ।

साउनमा ३ अर्ब २८ करोड, भदौमा ३ अर्ब १४ करोड, असोजमा २ अर्ब ७५ करोड, कात्तिकमा २ अर्ब ७४ करोड, मंसिरमा ४ अर्ब ४८ करोड, पुसमा ५ अर्ब १७ करोड र माघमा ५ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । तथ्यांक अनुसार पुसमा यो वर्षकै सबैभन्दा बढी ५ अर्ब १७ करोड रुपैयाँको राजस्व संकलन भएको छ

घरजग्गा किनबेचको संख्यामा समेत वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको सात महिनामा कुल ८ लाख ५६ हजार २९० वटा कारोबार भएको छ भने अघिल्लो वर्षको सोही अवधिमा ८ लाख ४५ हजार ९४१ वटा कारोबार भएको थियो।

लामो समय सुस्ताएको घरजग्गा बजार पछिल्लो समय क्रमशः चलायमान बन्दै गएको देखिन्छ। कारोबार र राजस्व दुवैमा आएको वृद्धि बजारमा सुधारको संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आईतवार १७:३०