१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

पोखरा उद्योग वाणिज्य संघद्धारा बैंक तथा वित्तीय संस्थाकाे ब्याजदर घटाउन माग

२३ माघ, पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घले बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएकामा आपत्ति जनाएका छन् । संघले बुधबार विज्ञप्ति जारी गर्दै यही माघ मसान्तसम्म ब्याजदर समायोजन नभए निजी क्षेत्रका सबैजसो संघसंस्थासँग सहकार्य गर्दै आन्दोलन गर्ने चेतावनी दिएको छ ।

संघद्वारा जारी विज्ञप्तिमा ब्याजदरमा भएको अत्याधिक वृद्धिले उद्योग /व्यवसायमा लागत वृद्धि भई प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आई उद्योग व्यवसायबाट हातै धुनुपर्ने स्थिति सिर्जना भएको उल्लेख गरिएको छ ।

“ऋणको ब्याजमा वृद्धि हुँदा निजी क्षेत्रबाट निर्माणाधीन परियोजनाको लागत मात्र बढेको छैन, नयाँ लगानी पनि निरुत्साहित हुन पुगेको छ”, सङ्घका अध्यक्ष दामु अधिकारीद्वरा जारी विज्ञप्तिमा भनिएको छ “ब्याजदर वृद्धिले नागरिकको दैनिक जीवनमा थप व्ययभारको अवस्थासमेत आएको छ ।

” व्यापार/व्यवसाय गर्दा ५ देखि ७ प्रतिशत मुनाफा कमाउन पनि मुश्किल हुने तर त्यही पूँजी बैंक वा वित्तीय संस्थामा राख्दा १२ प्रतिशतसम्म ब्याज पाइने अवस्था सिर्जना हुनु अर्थतन्त्रका लागि गम्भीर विषय भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घ बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदा भएको समस्याबारे अन्तरक्रियासमेत आयोजना गरेको थियो । कार्यक्रममा व्यवसायीले ब्याजदर बढ्दा व्यवसाय गर्न कठिन छ भन्दै ब्याजदर नघटे आन्दोलनको विकल्प नभएको बताएका थिए ।

पर्यटन व्यवसायीको आपत्ति
होटल तथा समग्र पर्यटन क्षेत्रलाई बैंकहरुले प्रदान गर्दै आएको कर्जाको ब्याजदर अस्थिर र चर्को भएको भन्दै त्यसलाई नियन्त्रण गर्न हस्तक्षेपकारी भूमिका निर्वाह गर्न पश्चिमाञ्चल होटल संघ पोखराले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष विकल तुलाचनको नेतृत्वमा सङ्घको एक टोली राष्ट्र बैंक पोखरा शाखा पुगेको थियो । शाखा प्रमुख निर्देशक पोमनाथ गौतममार्फत सङ्घले बैंकका गभर्नर डा चिरञ्जीवी नेपाललाई ज्ञापनपत्र बुझाउँदै विद्यमान अवस्थामा बैंकको स्प्रेड दर पनि अत्याधिक छ भन्दै न्यूनतम तीन प्रतिशत कायम गर्न अनुरोध गरेको थियो ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार २३:०७