१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

छुट अस्थायी करार शिक्षकको राष्ट्रिय भेला माघ २९ मा,अनिवार्य उपस्थितिका लागि ह्विप

भरतसन्तोषी

२३ माघ, काठमाडौं । छुट अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले सरकारले आफ्नो मागप्रति उदासीनता देखाएको भन्दै थप आन्दोलनको तयारी स्वरुप पहिलो राष्ट्रिय भेलाको आव्हान गरेको छ। संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलीले आफुहरुले राखेको पछिल्लो माग र छलफलको बिषयलाई सरकारले कुनै लिखित तथा मौखिक निर्णय नदिएको भन्दै थप आन्दोलनको तयारीमा जुटेको बताए।

यता पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटिका सदस्य नारायणकाजी श्रेष्ठलाई हिजो ज्ञापनपत्र बुझाएका थिए। उनीहरुले मुलतः करार शिक्षकहरुलाई संघीय शिक्षा ऐनमा उल्लेख हुनुपर्ने लगायतका माग ज्ञापन पत्रमा उल्लेख गरेका छन। खुल्ला शिक्षकको नतिजा प्रकाशन सँगै छुट करार अस्थायी शिक्षकहरुको रोजीरोटी खोसिने भन्दै उनीहरुले नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा १८ को समनाताको हक र धारा ३३ को रोजगारीको हक बमोजिम ०७२ असोज पछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई सेवाबाट विस्थापित गर्नबाट जोगाएर रोजगारीको हक सुनिश्चित गर्न र नवौं शिक्षक ऐन बमोजिम अस्थायी शिक्षक सरह ०७२ असोज पछि नियुक्त अस्थायी करार शिक्षकलाई पनि संघीय शिक्षा ऐनमा आन्तरिक परीक्षामा सामेल गर्न माग गरेका छन् ।

त्यस्तै आज छुट करार अस्थायी शिक्षक केन्द्रीय समितिले शिक्षक महासंघलाई समेत आफ्नो माग र बिषय प्रति अडिग रहन भन्दै ध्यानाकर्षण गरेको छ। खुल्ला शिक्षकको नतिजा प्रकाशन सँगै छुट करार अस्थायी शिक्षकलाई सरकारले अवकाश दिने तयारी गरेकाले रोजीरोटीका निम्ति ध्यानाकर्षण गराएको बताईएको छ।संघर्ष समितिले माघ २९ गते राष्ट्रिय सम्मेलनको समेत आयोजना गर्ने भएका छन् ।

यसअघि पनि उनीहरुले पुस १५ गते माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध र्याली निकालेका थिए भने पुस १६ गते शिक्षा तथा मानव स्रोत विकास केन्द्र घेराउ गरी ध्यानाकर्षण पत्र बुझाएका थिए । हाल देशभर करिब १३ हजार करार शिक्षक रहेको र उनीहरुको माग पुरा नभए रगतको खोलो बगाउन पनि पछि नहट्ने अध्यक्ष पराजुलीले बताउनुभयो । साथै माघ २९ गते काठमाडौमा हुने राष्ट्रिय छुट करार शिक्षक भेलामा सबैलाई अनिवार्य उपस्थितिको लागि समेत अनुरोध गरिएको छ।

प्रकाशित मिति : February 6, 2019 at 10:05 pm