स्थानीयलाई कुटपिट गर्ने नेकपा विप्लव समूहका ४ कार्यकर्ता पक्राउ
२३ माघ, अर्घाखाँची । स्थानीयलाई कुटपिट गर्ने नेकपा विप्लव समूहका ४ कार्यकर्ता पक्राउ परेका छन् । अर्घाखाँची छत्रदेव गाउँपालिका-७, मडेलचौरका स्थानीय भिमलाल पाण्डेलाई कुटपिट गरेको कारण विप्लव समूहका ४ जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो ।

जिल्ला अदालत अर्घाखाँचीमा रहेको मुद्दा फिर्ता लिन नमानेपछि भिमलाललाई कुटपिट गरेकाे अभियाेगमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा विप्लव समूहका अर्घाखाँची जिल्ला जन परिषद प्रमुख पिताम्बर पोख्रेल, गुल्मी जिल्ला सचिव खिम खड्का, लुम्बिनी ब्युरो सदस्य पूर्ण सिंह, र जाजरकोट पार्टी सदस्य शिवलाल पुन छन् ।
कुटपिटमा संलग्न रहेका ८ जनामध्ये ४ जना पक्राउ परेका र अन्य ४ जना फरार रहेकोमा उनीहरूको खोजी भैरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : 20:28









