६ महिनामा वस्तु निर्यात ४३.८ प्रतिशतले वृद्धि, चीनतर्फको निर्यातमा भने गिरावट
१९ माघ, काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालको कुल वस्तु निर्यात उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल राष्ट्रबैंककाे तथ्यांकअनुसार यस अवधिमा कुल वस्तु निर्यात ४३.८ प्रतिशतले बढेर १४२ अर्ब २ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने निर्यात वृद्धि दर ३१.८ प्रतिशत मात्र रहेको थियो। यसले चालु आर्थिक वर्षमा निर्यात क्षेत्रमा केही सुधार देखिएको संकेत गर्छ।
गन्तव्यका आधारमा हेर्दा भारततर्फको निर्यात ५७.० प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकतर्फको निर्यात १०.७ प्रतिशतले बढेको छ। तर चीनतर्फको निर्यात भने ६६.७ प्रतिशतले घटेको छ । जसले समग्र निर्यात संरचनामा असन्तुलन देखाएको छ।
वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पललगायतका वस्तुको निर्यात उल्लेख्य रूपमा बढेको छ। यस्तै, केही प्रशोधित र उपभोग्य वस्तुले निर्यात वृद्धिमा योगदान दिएका छन्।
तर जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामान तथा अन्य हस्तकलाजन्य वस्तुको निर्यातमा गिरावट आएको छ। यी वस्तुहरू परम्परागत रूपमा निर्यात हुने भए पनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजार, लागत वृद्धि तथा माग घट्नु जस्ता कारणले निर्यात प्रभावित भएको जानकारहरू बताउँछन्।
प्रकाशित मिति : १९ माघ २०८२, सोमबार १७:५७







