२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

तनहुँकाे भानु नगरपालिकाका राजु विकको हत्या गर्ने तीनजना पक्राउ

२३ माघ, दमौली । तनहुँको भानु नगरपालिका–९ काउरेटारका २७ वर्षीय राजु विकको हत्या गरेको अभियोगमा तीनलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लमजुङ दूधपोखरी गाउँपालिका–२ स्थायी घर भएका हाल काउरेटारमा बस्ने २८ वर्षीया मनकुमारी विक, लमजुङ दोर्दी गाउँपालिका–३ लामागाउँ स्थायी घर भएर हाल सोही ठाउँ बस्ने २४ वर्षीय आयुष विक र लमजुङ दूधपोखरी–२ का ३५ वर्षीया मनमाया विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विकको शव सोमबार काउरेटारस्थित रामप्रसाद हड्खलेको बारीमा खनिएको इनारभित्र फेला परेको थियो । दिदी मनकुमारीसमेतले गत मङ्सिर १२ गते राति कुटपिट एवं चिर्पट प्रहार गरेर घाँटीमा नाम्लोले कसेर राजुलाई कर्तव्य गरी मारेको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

पक्राउ परेकामध्ये मनकुमारी र मनमाया दिदी हुन् भने आयुष भाइ हुन् । उनीहरुले राजुलाई कर्तव्य गरी मारेपछि इनारभित्र फालेर माथिबाट ढकन लगाएर शवलाई छोपेका थिए । राजुको शव कुहिएर गन्ध आउन थालेपछि स्थानीयवासीले इनार खोलेर हेर्दा शव भेटिएको थियो । पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदातलमा आज म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : 19:09