१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

कुलमान आएपछि १० प्रतिशतले घट्याे विद्युत् चुहावट, प्राधिकरणलाई ७ अर्ब फाइदा

२३ माघ, काठमाडाैँ । कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण सम्हालेपछि विद्युत् चुहावट १० प्रतिशतले घटेकाे छ ।

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७५/७६को पहिलो ५ महिनामा विद्युत् चुहावट १५.४५ प्रतिशतमा झार्न सफल भएको छ । गत आर्थिक वर्ष २०७४/७५मा प्रणालीमा औसत २०.४५प्रतिशत रहेको विद्युत् चुहावटलाई चालु आवको ५ महिनामै १५.४५मा झार्न प्राधिकरण सफल भएको हो । चालु आवमा विद्युत चुहावट १८.५प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । प्राधिकरणले लक्ष्यलाई पूरा गर्न धेरै विद्युत चुहावट भएका वितरण केन्द्रलाई धेरै र कम चुहावट भएकालाई कमको चुहावट नियन्त्रणको लक्ष्य दिएको छ ।

प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण तथा थप गर्नेलगायतका काम अभियानकै रुपमा चलाइरहेको छ । कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि देशैभर अभियानकै रुपमा चालिएका कदमले विद्युत चुहावटमा उल्लेख्य कमी आएको बताए ।

२०७३ भदौमा जिम्मेवारी सम्हाल्दा विद्युत चुहावट औसतमा २५.७८ प्रतिशत थियो त्यसपछि आव २०७३/७४मा घटाएर २२.९मा झार्यौँ, आव ०७४/७५मा२०.४५मा रहेको चुहावटलाई घटाएर चालु आवको पाँच महिनामै १५.४५ प्रतिशतमा सीमित गर्न सफल भएका छौँ’, उनले भने ।

‘यो आर्थिक वर्षको बाँकी अवधिमा हाल रहेको चुहावटलाई अझै घटाउने गरी काम गरिरहेका छौँ । यस कार्यमा विशेष गरी वितरण तथा ग्राहक सेवा अन्तर्गतका व्यवस्थापक र दिन रात नभनी खटिएका कर्मचारी साथीहरुको भूमिका महत्वपूर्ण रहेको छ । चुहावट नियन्त्रणका लागि राति खटिँदा हाम्रा कर्मचारीहरुले पिटाइसमेत खाएका छन्’, घिसिङले विद्युत चुहावट रोक्ने काममा आइपरेका वाधासमेत उल्लेख गरे । प्राधिकरणले झण्डै १० प्रतिशतको चुहावट नियन्त्रणबाट वार्षिक करिब ७ अर्ब रुपैयाँ थप आम्दानी गर्नेछ ।

 

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार ११:५३