१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

अनिवार्य श्रमस्वीकृति भारतीय नागरिकलाई हैन, अफवाह फैलाउने कर्मचारीलाई कारबाहीकाे तयारी

२३ माघ, काठमाडौँ । अनिवार्य श्रमस्वीकृतिकाे विषय भारतीय नागरिकका लागि नभएकाे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मनत्रालयले भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य’ भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचार आधारहीन हल्ला भएकाे भन्दैै केहीघण्टा मै खण्डन गरेकाे छ ।

मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले विज्ञप्ति नै जारी गरेर मन्त्रालयको जानकारीबिना कसको संलग्नतामा यसप्रकारको अफवाह फैलने परिस्थितिको सिर्जना भयो भन्नेबारेमा आज स्पष्ट पार्ने बतााएका छन । विज्ञप्तिमा भनिएकाे छ, ‘यस सम्बन्धमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट विभिन्न श्रम तथा रोजगार कार्यालयहरुलाई गरिएको भनिएको परिपत्र साँचो या झुट के हो, यदि साँचो हो भने कसकसको संलग्नतामा, के कस्ता आधार लिई र के प्रयोजनको लागि गरिएको हो भन्ने विषयमा सोधखोज र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने नै छौँ ।’

विज्ञप्तिकाे भाषा हेर्दा यस काममा संलग्न कर्मचारीलाई कारबाही गर्ने संकेत मन्त्रालयले गरेकाे छ । हेलाेसरकारमा आएकाे गुनासाेकाे आाधारमा विभागले मन्त्रालयलाई समेत जानकारी नदिई मातहतका कार्यालयमा पत्रचार गरेकाे खुलेकाे छ । माघ १० मै भएकाे पत्राचारकाे व्यहाेरा माघ २२ मा हेलाेसरकारले गुनासाेकर्ता पत्रकार गजेन्द्र बुढाथाेकीलाई मेन्सन गरेपछि सार्वजनिक भएकाे देखिएकाे छ ।

मन्त्रालयकाे विज्ञप्ति यस्ताे छ

भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचार प्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।

मन्त्रालयको जानकारीविना कसको संलग्नतामा यसप्रकारको अफवाह फैलने परिस्थितिको सिर्जना भयो बुझी भोलि स्पष्ट पार्नेछैा।

यस सम्वन्धमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट विभिन्न श्रम तथा रोजगार कार्यालयहरुलाई गरिएको भनिएको परिपत्र साँचो या झुट के हो, यदि साँचो हो भने कसकसको संलग्नतामा, के कस्ता आधार लिई र के प्रयोजनको लागि गरिएको हो भन्ने विषयमा सोधखोज र छानविन गरी सत्यतथ्य बाहिर ल्याउने नै छैा। यस सम्वन्धी जानकारी आज कार्यालय समय पश्चात प्राप्त भएकाले भोलि यस बिषयमा स्पष्ट पार्ने छैाँ। यस सम्बन्धमा कुनै भ्रममा नपर्न यहाँहरु सबैमा सादर अनुरोध गर्दछैाँ। यहाँहरु एक जिम्मेवार नागरिक समेत हुनुभएको हुँदा यसप्रकारको आधारहिन हल्लाको पछि लाग्नुहुने छैन भन्नेमा मन्त्रालय विश्वस्त रहेको व्यहोरा समेत अनुरोध गर्दछैाँ।

रामप्रसाद घिमिरे
सहसचिव
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

प्रकाशित मिति : February 6, 2019 at 7:36 am