२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

जीवनलाई समृद्ध पार्न शिक्षाको भूमिका महत्वपूर्णः राष्ट्रपति भण्डारी

२२ माघ, चितवन ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको बताएकि छन् । चितवनको नारायणगढस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै भण्डारीले मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको बताइन् ।

“शिक्षाले ज्ञान र सामाजिक चेतना प्रवाह गर्दै भातृत्व, सामाजिक सद्भाव र एकताको गहिरो सन्देश दिने भएकाले शैक्षिक संस्था यसमा संवेदनशील बन्नुपर्छ ।” राष्ट्रपति भण्डारीले समाजप्रति सामुदायिक विद्यालयको गहन दायित्व रहेको बताउँदै गुणस्तरीय शिक्षा प्रदान गर्नु विद्यालयको जिम्मेवारी रहेको विचार व्यक्त गरिन् ।

भण्डारीले गुणस्तरीय, व्यावसायिक र प्राविधिक शिक्षाका लागि विद्यालयको उत्तरोत्तर प्रगतिको कामना समेत गरिन् । राज्यले सार्वजनिक शिक्षामा गरेको लगानीको प्रतिफल प्राप्त हुन नसकेको भन्दै राष्ट्रपति भण्डारीले मुलुकलाई अति कम विकसित राष्ट्रबाट कम आय भएको राष्ट्रमा विकसित गर्ने राष्ट्रिय लक्ष्य रहेको जानकारी दिइन् । भण्डारीले  बालबालिकालाई उच्चस्तरीय राष्ट्रिय भावनाबाट प्रेरित गर्न शिक्षा क्षेत्र सङ्कल्पित हुनुपर्ने बताइन ।

विसं २०२५ मा बालकुमारी कन्या स्कुलको शाखाको रुपमा स्थापना भएको आदिकवि भानुभक्त माध्यमिक विद्यालयमा हाल कक्षा नर्सरीदेखि १२ तथा प्राविधिकतर्फ ४८ जना गरी कूल एक हजार ३६२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको स्वामित्वमा एक बिघा १६ कठ्ठा जग्गा रहेको छ ।

प्रकाशित मिति : 17:36