६ माघ २०८२, मंगलवार | Tue Jan 20 2026

१० शाखा कार्यालय समायोजन गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

६ माघ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना १० वटा शाखा कार्यालय समायोजन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले २०८३ साल बैसाख १ गतेदेखि १० वटा शाखाहरूलाई नजिकैका अन्य शाखामा गाभी एकीकृत रूपमा सेवा सञ्चालन गर्ने जनाएको छ ।

बागमती, मधेश, कोशी र गण्डकी प्रदेशअन्तर्गतका केही शाखाहरू आपसमा समायोजन गरी कारोबार सञ्चालन गरिने बैंकले जनाएको छ । बागमती प्रदेशमा बागबजार शाखा पुतलीसडक शाखामा, गौशला शाखा बत्तिसपुतली शाखामा, कपुरधारामा रहेको ठमेल शाखा, पाटन शाखा लगनखेल शाखामा तथा कुलेश्वर शाखा कालीमाटी शाखामा समायोजन गर्ने बैंकले जनाएको छ । यसैगरी भरतपुर महानगरपालिका वडा नम्बर १ मा रहेको नारायणगढ शाखालाई वडा नम्बर ३ मा समायोजन गरिने बैंकले जनाएको छ ।

मधेश प्रदेशतर्फ वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ मा रहेको शाखा वडा नम्बर १० मा स्थानान्तरण हुने र कोशी प्रदेशमा विराटनगर महानगरपालिका वडा नम्बर ८ को शाखा वडा नम्बर ७ मा समायोजन गर्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ । गण्डकी प्रदेशमा पोखरा महानगरपालिका वडा नम्बर १३ मा रहेको बझापाटन शाखा वडा नम्बर १० मा रहेको अमरसिंह शाखामा समायोजन गरिनेछ । त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेको लेखनाथ शाखा वडा नम्बर २७ स्थित तालचोक शाखामा गाभिने भएको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १०:२०