२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

कांग्रेसबाट निर्वाचित मेयर र वडाध्यक्ष नै  विद्युत चाेर, यसरी परे प्राधिकरणको फन्दामा

२१ माघ, रौतहट ।  रौतहटको गढीमाई नगरपालिकाका मेयर र वडाध्यक्ष नै  विद्युत चोरीमा संलग्न रहेका खुलासा भएकाे छ । नेपाली कांग्रेसबाट निर्वाचित मेयर श्यामप्रसाद यादव र सोही नगरपालिका–६ का वडाध्यक्ष रामसिंहासन यादव र गरुडा नगरपालिका–१ का वडाध्यक्ष सरोज राय यादव विद्युत चोरीमा संलग्न रहेको पाइएको हो ।

काठमाडौंबाट खटिएको नेपाल विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण महाशाखा टोलीले प्रमुख यादव (ग्राहक नं। ००८-१३-०१) र वडाध्यक्ष यादव (ग्राहक नं. ०७-२०-०३ ए) र वडाध्यक्ष सरोज राय यादव (ग्राहक नं. १८-०८-१९)ले आफ्नो घरमा विद्युत चोरी गरी प्रयोग गरेको फेला पारेको हो।

रौतहटमा टोलीले गत १४ देखि २० माघसम्म गरेको छड्के चेकजाँचको क्रममा गढीमाई नगरपालिकाको बिनगरमा रहेको दुईवटा घरमा मेयर श्यामप्रसाद यादवले हुकिङ गरी विद्युत् प्रयोग गरिरहेको फेला पारेको हो । टोली प्रमुख शर्माले हुकिङ गरेर प्रयोग गरिएको लाइन काटिएको तर सुरक्षाका कारण मेयरको घरमा राखिएको मिटर खोल्न नसकिएको जानकारी दिए ।

गढीमाई नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष रामसिंघासन यादवले आफ्नो घरमा, वडा कार्यालयमा र धरमपुर स्वास्थ्य चौकीमासमेत चोरीको विद्युत प्रयोग गरेकाे फेला पारेको छ ।

गरुडा नगरपालिका १ का वडाध्यक्ष सरोज राय यादवले मिटर बाइपास गरी घरमा बिजुली प्रयोग गरेका थिए । वडाध्यक्षले आफ्नो घरमा मात्रै नभइ दाजुभाइको घरमासमेत चोरीको विद्युत दिएका थिए ।

प्रकाशित मिति : 18:43