विकास र संघीयता कार्यान्वयनको बाधक कर्मचारीको कार्यशैली, व्यवहार, साँडा र छाडा प्रवृति
–पोष्ट केसी
म नेपाली नागरिक जो निम्न मध्यम परिवारमा जन्मेर देशका ६० भन्दा वढी जिल्लाका दुरदराज र विदेशका विभिन्न शहर, स्थानमा जीवनलाई सार्थक बनाउनको लागि संर्घर्ष गर्दै आज देशको राजधानी काठमाडौंमा जीवन जीउने कला सिक्दै छु । मेरो उमेरको ४ दशक सम्म आईपुग्दा जीवनका उकाली ओरालीहरु गर्दै जीवन र समाजलाई बनाउने सिलसिलामा विभिन्न कालखण्डमा आएका दुख, पिडा, यातना, अभाव,दवाव, प्रभाव,अन्याय, अत्याचार, दमन शोषण ,हाँसो खुशी र आँशुहरुको सामाना गर्दै आजको मोडमा आएको छु । अहिलेको अवस्थामा आईपुग्दा शैक्षिक हिसावले भन्नु पर्दा एमए अर्थशास्त्र, एमफिल र एलएलविको विद्यार्थी रुपमा परिचय दिन रुचाउछु भने अनुभव, जागीर र समाज सेवाको हिसावले सरकारी र गैरसरकारी क्षेत्रमा योजना, नीति निर्माण, विकास,सुशासन, सुचनाको हक, पारदर्शिता, आर्थिक विकास, सामाजिक परिचालन, भ्रष्टाचारविरुद्ध, लोकतन्त्र, कानुनी शासन, नागरिक तथा राजनैतिक अधिकार, समाजिक विभेद र मानवअधिकारको क्षेत्रमा विगत २० वर्ष देखि क्रियाशिल छु साथै लेखन मार्फत पनि विभिन्न सार्वजनिक सरोकारका विषयमा नागरिकलाई सुसुचित गराउदै आईरहेको छु ।
नागरिक अथवा अलि पढे लेखेको व्यक्ति भए पछि सरकारी संयन्त्रसग निकट रहेर काम गर्नुपर्दो रहेछ चाहे त्यो सार्वजनिक सेवा प्रवाहरुको वारेमा होस, चाहे त्यो सुचना संकलनको वारेमा होस, चाहे त्यो, वहस तथा पैरवीको वारेमा होस, चाहे त्यो पारदर्शी र जवाफदेहिताको विषयमा किन नहोस यी सवै क्षेत्रमा केही न केही रुपमा हामी गठजोड गर्नुपर्दो रहेछ । मैले सरकारी सेवामा पनि काम गरे र गैर सरकारी तथा सामाजिक क्षेत्रमा पनि काम गर्दै छु । सवैको एउटै उद्देश्य हुन्छ चुस्त दुरुस्त सार्वजनिक सेवा र विकास निर्माण, सामाजिक न्यायमा जनताको पहुच मार्फत गरिवी निवारण समृद्धि र खुशी नेपाली बनाउने । तर विडम्वना सरकारी कर्मचारीको कार्यशैली र व्यवहार, राज्यका नीतिहरु, नागरिकको चेतनाको स्तर र राजनीतिक दलहरुको दुरदृष्टिको अभावले गर्दा सवै उद्देश्यहरु वर्षौदेखि जस्ताको तस्तै छन यसको प्रमुख दोष को को हुन यसको वारेमा समिक्षा गरेर समाधान गर्नुपर्छ ।
मरो २० वर्षको अनुभवमा कर्मचारीको कार्यशैली, व्यवहार, अटेर, साँडा र छाडा प्रवृति नै नेपालको विकास, संघीयता कार्यान्वयन र जनमुखी सार्वजनिक सेवाको प्रमुख बाधक हो । यिनीहरुमा कहिले पनि सार्वजनिक सेवा र विकास निर्माणलाई छिटो छरितो गर्नुपर्छ भन्ने सोचाईको विकास भएको पाईएन । जहिले पनि पैसा पैसा र घुषको वारेमा मात्र कुरा गरेको पाईएको छ । यो विडम्वना हो ।
कुरा एक दिनको हो जव म सार्वजनिक कामको सिलसिलमा एउटा सरकारी कार्यालयमा सानो सुचना तथा तथ्यांक लिन चिठी सहित पुगेको थिए । नियमपुर्वक चिठीमा तोक लगाएर सकारात्मक सोचका साथ संघीय गणतन्त्रिक सघीय सरकार अन्र्तगतको कार्यालयमा बरिष्ठ देखि कनिष्ठ व्यक्तिका ढोका चार्न पुगे तर प्राय सवै कर्मचारी तथ्यांक दिने भन्दा पनि जिम्मेवारीवाट पन्छिने वाहेक अरु केही मैले अनुभव गर्न सकिन र म वाक्क दिक्क पनि भए । यो मेरो पहिलो कार्य पनि होइन विगत ३ वर्षदेखि म यस कार्यमा संलग्न छु र हामी सरकारी कार्यालयको सेवालाई पारदर्शी, जवाफदेही, जनमुखी र नागरिक संस्थामैत्री बनाउनु पर्छ भनेर विभिन्न समयमा सहकार्य, वहस र पैरवी पनि गर्दै आएको छौ । तर कर्मचारीको प्रर्विति र कार्य शैली भने २० को उन्नीस भएको छैन । यो समस्या तथा प्रर्विति एउटा कार्यालयको मात्र होइन प्राय सवै सरकारी कार्यालयमा यो रोग पाईन्छ ।
मैले कर्मचारीको सम्पत्तिको विवरण पनि मागेको थिएन, कर्मचारीको हाजीरी रेर्कड पनि मागेको थिएन, कर्मचारीको नैतिक चरित्रको विवरण पनि मागेको थिएन, कारवाहीमा परेका कर्मचारीको विवरण पनि मागेको थिएन तर मलाई २ घण्टा सम्म कहिले दर्तामा, कहिले योजना, कहिले मुल्यांकन, कहिले अनुगमन, कहिले लेखामा ,कहिले प्रशासन शाखामा पठाइयो तर विडम्वना मैले पुर्ण तथ्यांक पाउन सकिन र केही बरिष्ठ अधिकारीको जिम्मा लगाएर म त्याहाँबाट फर्किएँ ।
नागरिक संस्थाहरुको परिचालन तथा सहजीकरणमा हातेमालो गरेर देशको सामाजिक तथा आर्थिक विकास मार्फत गरिव निमुखा जनताको जीवन सुधार गर्ने पवित्र उद्देश्य राखेर स्थापना भएको संस्थामा अहिले केही ठग, कामचोर, अटेर, साँढे, शोषक कर्मचारीको चक्रविउमा फसेको छ । यस्ता खराव प्रर्विति भएका कर्मचारीले गर्दा सिंगो संस्था र सवै कर्मचारी वदनाम गरेको छ भने नागरिकहरुको सहयात्री भन्दा पनि गलपासो भएको नागरिक संस्थाहरुको गुनासो छ । यो मेरो प्रतिनीधि उदाहरण मात्र हो । यदि यस्तै प्रर्विति कर्मचारीमा अभ्यास्त हुने हो भने आगामी दिनहरुमा नेपाल सरकारका कर्मचारी डाईनोसर झै लोप हुन पनि सक्छन ।
स्मरण रहोस सुचनाको हक सम्वन्धि ऐनले हरेक नागरिकलाई सुचना माग्नु र पाउनु नागरिकको अधिकार मानेको छ । नागरिक र नागरिक संस्था विना एकपल पनि बाच्न नसक्ने सरकारी कार्यालय र जनताको रगत र पसिना विना एकपल पनि बाच्न नसक्ने कर्मचारीहरुले नागरिक तथा नागरिक संस्थालाई दुख सास्ती दिएर के गर्न खोजेको हो ? हामीले बुझ्नन सकेका छैनौँ । यसमा सरकारले के हेरेर बसेको छ । यस्तो ढर्राले सरकारी कार्यालयहरुको आवश्यकता, औचित्यता र सान्दर्भिकताको वारेमा गम्भीर प्रश्न चिन्ह उठने गरेको छ । आगामी दिनहरुमा सुधार गर्ने की मर्ने यो सवै कर्मचारीको पोल्टामा राख्न चहान्छु । यसवारेमा तपाई अनुभव र प्रतिक्रिया अपेक्षामा छु । यो मेरो अवाज कुनै संस्था र व्यक्ति भन्दा पनि खराव प्रर्वितिका विरुद्ध हो । कसैलाई चित्त दुखे मेरो कुनै गुनासो छैन । मेरो जीवन रहे सम्म यस्ता खराव प्रविर्ति विरुद्ध डटेर लडने मेरो प्रतिवद्धता छ । आगामी दिनमा सुधारको अपेक्षा राखेको छु ।
Email: kc.poshta@gmail.com
प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार ११:०५