२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

सशस्त्र प्रहरीका एसएसपी गोपाल मिश्रसहित चार भ्रष्टाचारी ठहर, यस्तो छ कैद र जरिवाना

१८ माघ, काठमाडाैँ । सशस्त्र प्रहरीका एसएसपी गोपाल मिश्रसहित चार जना भ्रष्टाचारी ठहर भएका छन । विशेष अदालतले सशस्त्र प्रहरी बल नौबस्ता बाँकेमा कार्यरत रहँदा सामान खरिदमा अनियमितता गरेको ठहर गर्दै सशस्त्र प्रहरीका एसएसपी मिश्रसहित इन्सपेक्टर चित्रबहादुर केसी, हवल्दार नयनवहादुर ओलीलाई र ठेकेदार राजु रावललाई भ्रष्टाचारी ठहर गरेको हो।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु रत्नबहादुर बागचन्द र चण्डीराज ढकालको इजलासले चारै जनालाइ भ्रष्टाचारी ठहर गर्दै कैद र जरिवाना तोकेको छ । अदालतले दुई प्रहरी अधिकारी र ठेकेदारसँग बिगो, जरिवाना र कैदसँगै थप ४२ लाख ११ हजार २ सय भराउनुपर्ने ठहरसमेत गरेको छ।

विशेषले मिश्र र केसीलाई बिगोको दामासाही हुनेगरी आधाआधा भराउने फैसला सुनाएको छ। उनीहरुलाई जनही ६३ लाख १६ हजार ८ सय ९६ रुपैयाँ र सो बराबर जरिवाना हुने फैसला विशेषले सुनाएको छ। भ्रष्टाचार निवारण ऐन अनुसार जनही उनीहरुलाई एकएक वर्ष कैद हुने फैसला सुनाइएको छ।

यस्तै ठेकेदार राजु रावललाई १ करोड २६ लाख बिगो र सोही बराबर जरिवना भराउने फैसलासमेत सुनाइएको छ। हवलदार नयनवहादुर ओलीलाई ३१ लाख ५८ हजार बिगो र सोही बराबर जरिवाना तथा ६ महिना कैद हुने फैसला सुनाइएको छ।

अख्तियारले सामान खरिदमा अनियमितता भएको भन्दै जेजे ट्रेडिङ एन्ड इन्टरप्राइजेजका सञ्चालक रावललाई पनि मुख्य अभियुक्त भन्दै मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति : 19:47